देश

    उत्तरी गोरखामा हेलिकप्टरबाट कोरोनाविरूद्धको खोप ढुवानी

    जगत ठाडा मगर
    २०७८ साउन ३ | बिहान ०८:०४ बजे

      गोरखा । अविरल वर्षापछि बूढीगण्डकी नदीले यारूबगरलगायत विभिन्न ठाउँमा बाटो भत्काएपछि उत्तरी गोरखामा हेलिकप्टरबाट कोरोनाविरूद्धको खोप ढुवानी गरिएको छ।

      जिल्ला स्वास्थ्य कार्यालय गोरखाले चुमनुब्री गाउँपालिकाका विभिन्न वडामा हेलिकप्टरबाट खोप ढुवानी गरेको हो। खोप ढुवानीका लागि सिम्रिक एयरको हेलिकप्टरलगायत जोहो गर्न माउन्टेन चाइल्डले सहयोग गरेको थियो।

      यो गाउँपालिकाभित्र बसोबास गर्ने सबै नागरिकलाई खोप लगाउने तयारी छ। १८ वर्षदेखि माथि उमेरका सबैलाई खोप लगाउने तयारी गरिएको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

      भेरोसेलको ३ हजार डोज खोप शनिबार सिर्दिवासलगायत क्षेत्रमा पुर्‍याइएको हो। चुमनुब्रीका केही मानिसले पहिले नै खोप लगाएका थिए।
      स्वास्थ्य कार्यालयअन्तर्गत खोप शाखाका प्रमुख ऋषिराम खत्रीका अनुसार गाउँपालिकाभित्रका १८ वर्षमाथिका नागरिकलाई खोप लगाइन्छ।

      गत शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल हेलिकप्टरमार्फत् उत्तरी गोरखा अवलोकन गरेर फर्केका थिए। बाटो भत्केको र मौसम खराब भएकोले खोप ढुवानी गर्न यसअघि सकिएको थिएन।

        कमेन्टहरु