पोखरामा पहुँचवालाको मनोमानीका कारण लक्षित वर्ग खोप लगाउनबाट वञ्चित


पोखरा । कास्कीमा पहुँचवालाले आ–आफ्नो मान्छेलाई प्राथमिकता दिएर कोरोनाविरुद्धको खोप लगाएका कारण लक्षित वर्ग खोप लगाउनबाट वञ्चित भएका छन् ।
पोखरा महानगरपालिकाले सुरु गरेको खोप अभियानमा महानगरका स्वास्थ्य महाशाखादेखि वडा अध्यक्षहरूले समेत आ-आफ्नो आफन्त, नातेदार, नजिककालाई खोप लगाइदिएपछि खोपका लागि दिनभर लाइन बसेका पहुँच नभएका व्यक्तिहरु खोप नलगाइ घर फर्कन बाध्य भएका छन् ।
कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले खोप केन्द्रको ३ वटा टोली बनाएर अनुगमन गरेको दाबी गर्नुभयो । अनुगमनका क्रममा घूसपैठ भएको उहाँले बताउनुभयो । महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा पौडेलले हालसम्म पोखरामा ३६ हजार मात्रा खोप लगाइएको जानकारी दिनुभयो ।
यति धेरै खोप लगाइ सक्दा पनि लक्षित वर्ग पन्छाएर आफन्तहरूलाई खोप लगाउने र तोकिएको उमेर समूहका व्यक्तिलाई पाखा लगाउने काम भएको छ । जसका कारण केही खोप केन्द्रमा विवाद हुनुका साथै झडपको अवस्था समेत सिर्जना हुन पुगेको थियो ।
यसैबीच शनिबारदेखि विभिन्न पेसागत समूहका व्यक्तिलाई लक्षित गरेर पूर्वसूचना जारी गरी खोप केन्द्र तोकिए पनि अन्तिममा खोप अभाव भएको भन्दै स्थगित गरिएको छ । खोप लगाउने आशामा अविरल वर्षाबीच मानिसहरू पोखरा ३, नदीपुरस्थित कन्या क्याम्पसमा पुगेका थिए । तर, खोपको अभावका कारण उनीहरू खोप नलगाइ फर्कन बाध्य भए ।





