विचार/ब्लग

    के नेपाली मात्र भएर बाच्न पाइन्न ?

    नवलपुर टुडे
    २०८१ माघ २० | बिहान ११:१० बजे

      चितवन । “ए, नयाँ सिडिओ आएछन? पहिलेको त माओबादीका थिए क्यार, अहिलेको पक्कै कांग्रेसका होलान्”, एकजना ब्यावसायी
      दाइ कसैसंग फोनमा कुरा गर्दै गरेको सुने। निजामति सेवामा निस्पक्ष रुपमा नागरिकको काम गर्दै अधिकृत हुदै दुइ दशक
      सेवा गरेर सह-सचिब जस्तो गरिमामय पदमा रहेको मान्छेलाइ कति सजिलै कांग्रेस र माओबादीको कार्यकर्ता बनाउछ यो
      समाजले भनेर सोच्दै गर्दा फेरी सर्बोच्चको न्यायाधिसलाइ “जय नेपाल दाइ” भन्छौ भनेर देशकै ठुलो पार्टीका महामन्त्रीले
      भनेको पनि सम्झिए।

      आखिर कहिलेबाट हाम्रो समाज पुरा रुपमा दलियकरण र राजनीतिकरण भयो भन्ने बिसयमा घोत्लिदै थिएँ, पूर्व
      शिक्षामंत्री सुमना श्रेष्ठको फेसबुक पेजमा “नागरिकको आवाज: सदनसम्म” भन्ने शिर्सकको विज्ञप्ति देखे जसमा लेखिएको
      थियो कि “नेपालि भएर मात्र बाच्न किन पुग्दैन नेपालमा?” शिक्षा, स्वास्थ, निजामति सेवा र प्रशासन जस्ता क्षत्रमा
      भएको चरम दलियकरण, राजनैतिक प्रभाब र हस्तक्षेपले सिर्जना गरेका तमाम समस्याहरुको उजागर गर्न एक हप्ताको
      यात्रामा निस्कन लाग्नुभएको रहेछ। तत्काल उहालाई सम्पर्क गरि म पनि बिरगंजको गाडी चढीहालें अनि सुरु भयो समाज
      बुझ्ने एक साताको यात्रा।

      पर्साको बहुदरमाइ नगरपालिकामा राजनैतिक खिचातानीले पालिकामा बिगत ७ महिना देखि शिक्षकहरुले तलब
      नपाएको र अहिले त्यहाँ पालिका भित्रका सबै बिधालयमा पठनपाठन ठप्प समेत रहेको पायौँ। पर्साकै तिन वटा
      पालिकालाइ बिरगंज जोड्ने तिलावे खोलाको पुल भाचिन लाग्दा १५ लाख लागतमा मर्मत हुनेमा आफ्नालाइ काम दिने
      नाममा २० लाखको डाइभर्सन बनाइयो र आज त्यो पनि बगाएपछी १० कि.मि. बढि कच्ची सडक हिड्न बाध्य छन्
      नागरिक। हेटौडामा पुग्दा मन्दिरजस्तो पवित्र ठाँउमा पनि समितिमा दलगत चुनाब भएको र कुर्ची तोडफोड भएको
      सुनाउनु भयो। एक जना ब्यबसायीले ८% ब्याजदरमा लिएको ऋण १८ % सम्म बैंकमा तिरेको तितो अनुभब सुनाउदै
      अब ब्यबसाय बन्द गरेर बिदेश जाने तयारीमा रहेको बताउनुभयो।

      चितवनकी एक जना दिदि भन्दै हुनुहुन्थ्यो पढेर मात्र के गर्नु आफ्नो मान्छे नभई काम पाइन्न रहेछ। अनि छेवैमा अर्को
      दाइ भन्दै हुनुहुन्थ्यो कि पैसा लिएर अस्पताल गयो, एक कल नेताले नगर्दिए बेड त पाइदैन। सौराहाको एक होटल
      व्यवसायीको पर्यटक नहुदा ब्यबसाय नै धरासायी भैसकेको छ भन्नुहुन्थ्यो। भरतपुर, रामनगरमा बिधार्थी र शीक्षकले
      प्रयोग गर्ने छुट्टै टवाइलेट सम्म नभएको र स्कुलमा खानेपानीको पनि चरम समस्या रहेको बताउनु भयो। भरतपुर
      महानगरमा पनि बिधार्थी २ घण्टा हिडेर स्कुल आउछन र ३ बर्समा सोहि स्कुल पढ्ने ५ जनाले आत्महत्या समेत गरेको
      सम्म भेट्यौं। आफ्नै गाउमा केहि गर्छु भनेर इच्छाकामना गाउपालिका स्वास्थ्य चौकीमा मेसुको भूमिका १८ महिना काम
      गरेकि मेडिकल अफिसर, त्यहाको राजनीतिले आजित भएर अब अमेरिका जान लागेको कुरा बताइन। मलेखुका एक
      ब्यबसायीले पैसा नखुवाई केहि काम नहुने बताए। गजुरीका स्थानीय भन्दै थिए कि ३५०० जनसख्या भएको ठाउँमा
      ६०० मत ल्याएर जितेको जनप्रतिनिधि छ, जसले ति ६०० जना बाहेकको काम नै गर्दैन। यस्तै यस्तै सयौं गुनासोका चांग
      र सुझाब संकलन गर्दै हामि छैटौं दिन राजधानी पुग्यौं।

      नेपालको समाजमा आजको दिनमा राजनीति प्रत्येक क्षेत्र र संस्था भित्र गहिरो रुपमा समाहित भएको छ। कुनैपनि
      सामाजिक, शैक्षिक, सांस्कृतिक वा सेवासम्बन्धी क्रियाकलाप बिना कुनै राजनीतिक दलको झण्डा मुनि सञ्चालन हुँदैन भन्ने
      अवस्था बनेको छ। यसले एकतासहितको समाजको परिकल्पना र नेपाली नागरिकको साझा जीवनशैलीलाई अप्ठ्यारो
      बनाइरहेको छ। सरकारी कर्मचारी, शिक्षक, पत्रकार, वकिलदेखि स्थानीय विकास समितिहरूसम्म सबैमा राजनीतिक
      दलका विचार र झण्डा हावी छन्। यसका कारण समाजमा विभाजन र भेदभावको भावनाहरू जन्मिरहेका छन्। हरेक
      स्थानमा मानिसहरू आफूलाई एक पार्टीको सदस्यको रूपमा प्रस्तुत गर्न अग्रसर छन्, जसले उनीहरूको व्यक्तिगत विचार
      र क्षमतामा भन्दा बढी पार्टीको लहर र राजनीतिका आधारमा कार्य गर्ने प्रवृत्तिलाई प्रोत्साहित गरिरहेको छ।

      सामाजिक संस्थाहरू जस्तै खानेपानी उपभोक्ता समिति, बिधालय व्यवस्थापन समिति, टोल सुधार समिति लगायतका
      संरचनाहरूमा दलगत राजनीति घुस्नु भनेको तिनीहरूको उद्देश्य र मुख्य कार्यक्षेत्रको अवमूल्यन गर्नु हो। जब यी
      समितिहरू दलगत राजनीतिको आधारमा सञ्चालन हुन्छन्, तब तिनीहरूको कार्यप्रदर्शन र कार्यक्षमता कटौती हुन्छ र
      समुदायका वास्तविक आवश्यकताहरू पूरा गर्न असहजता उत्पन्न हुन्छ। यसरी, सामुदायिक विकास र सामाजिक एकताको
      उद्देश्य पूरा गर्न सजिलो हुँदैन। अर्को महत्वपूर्ण प्रश्न भनेको "हामी नेपाली मात्र भएर बाँच्न सक्दैनौं?" हो। एकतामा
      शक्ति र साझा समझदारीका आधारमा अघि बढ्नुपर्ने अवस्था नपाएको र बारम्बार राजनीतिक दलको भागबण्डा गर्ने
      प्रवृत्तिले सामाजिक एकता र समृद्धिमा बाधा पुर्याइरहेको छ। पार्टीहरूको चासो समाजको समग्र हितभन्दा अलग छ र
      तिनीहरूले आफूलाई केवल राजनीतिक लाभ र प्रचारको लागि मात्र प्रस्तुत गरेका छन्। यसले गर्दा नेपाली समाजको
      साझा पहिचान कमजोर भइरहेको छ र सबै नेपाली नागरिकहरू बीचको एकता दरिलो हुन सकेको छैन।

      शिक्षक संघहरूको उल्लेख गर्दा, जस्तै अखिल नेपाल शिक्षक संघ, नेपाली कांग्रेस शिक्षक संघ, अखिल नेपाल प्रजातान्त्रिक
      शिक्षक संघ, र अखिल नेपाल राष्ट्रिय शिक्षक संघ, यी सबै संघहरू नेपालको शैक्षिक क्षेत्रसँग जोडिएका छन्। यी संघहरूको
      संरचना र कार्यदिशा प्रायः विभिन्न राजनीतिक दलहरूको धारा र विचारधारामा आधारित हुन्छ। इन्जिनियरिङ्गको
      क्षेत्रको कुरा गर्दा, अखिल नेपाल इन्जिनियर संघ, नेपाल इन्जिनियर महासंघ , नेपाल इन्जिनियर समाज, नेपाल
      इन्जिनियरिङ्ग पार्टी, र नेपाल इन्जिनियर प्रोफेशनल्स एसोसिएशन जस्ता संस्थाहरू छन्। के पार्टीको शिक्षक नभई
      शिक्षकमात्र बन्न सकिन्न? के फलानो दलको इन्जिनियर नभई इन्जिनियर मात्र बन्न सकिन्न ? चाहे त्यो शिक्षा क्षेत्र होस्,
      इन्जिनियरिङ्ग क्षेत्र होस्, वकालतको पेशा होस् या मिडिया—सार्वजनिक जीवनका हरेक अङ्ग राजनीतिक दलको
      प्रभावमा छन्। संघहरूको चुनावमा, जुन प्रायः पेशागत संस्थामा हुन्छ, त्यहाँ पनि राजनीतिक दलको प्राथमिकता र
      प्रभावको बिचार गरिएको हुन्छ। यो अवस्था केवल त्यस्तो पेशामा मात्र सीमित छैन, बल्कि यहाँसम्म कि पत्रकार र
      वकिल जस्ता पेशामा पनि दलगत प्रभाव स्पष्ट रूपमा देखिन्छ। यस्तो अवस्थामा, जब एक पेशागत संघको चुनावमा
      पेशागत दक्षता, पारदर्शिता र निष्पक्षताको आधारमा जित्न सकेन तर कुनै दलको झण्डामुनि ल्याइएका व्यक्ति विजयी
      हुन्छन्, यो समाजको ठूलो विकृति हो।

      हामीलाई एउटा स्वस्थ र समृद्ध समाजको परिकल्पना गर्न, जहाँ प्रत्येक व्यक्ति आफ्नो योग्यताको आधारमा अघि बढ्न
      सक्छ, त्यहाँ दलगत राजनीतिले प्रभाव पार्नु हुँदैन। आजको नेपालको समाजमा सामान्य नागरिकको अवस्था यति जटिल
      र विभाजित भएको छ कि केवल दलका झण्डामुनि आएका व्यक्तिहरू नै तिनका प्रतिनिधि बन्न सक्छन्। यहाँ, कुनै पनि
      पेशागत संघको चुनाव, निर्णय प्रक्रिया र सामाजिक कार्यमा राजनीतिक दलको पक्षपाती प्रभावले त्यहाँका व्यक्तिहरूको
      वास्तविक कार्यक्षमता र योग्यतालाई ढाकछोप गर्छ। यसले केवल समाजमा असमानता र अन्यायलाई जन्माउँछ।
      समाजलाई विभाजन र विकृतिको यो अवस्थाबाट बाहिर ल्याउनका लागि, नेपालमा राजनीतिक दलहरूले आफ्ना हद र
      दायरा थाहा पाउन आवश्यक छ। हामी सबैलाई नागरिकको रूपमा समान अधिकार र अवसर प्राप्त गर्न पाउने अधिकार
      छ, र हाम्रा योग्यतामा आधारित निर्णय र प्रतिनिधित्वको सम्मान गर्नुपर्छ। अब समय आएको छ कि हामी एकतामा
      आधारित समाज निर्माणमा ध्यान केन्द्रित गरी, दलगत राजनीति र समर्पणबाट मुक्त बनौं, जसले सबै नेपाली नागरिकको
      एकजुटता र समान अधिकारको सुनिश्चितता गर्दछ।

      लेखक: -बिशाल कोइराला
      जिल्ला सचिब, राष्ट्रिय स्वतन्त्र पार्टी, चितवन

        कमेन्टहरु