मलेसियामा अवैधरुपमा बसेका १६ नेपालीसहित १७६ जना विदेशी नागरिक पक्राउ


मलेसिया । मलेसियन अध्यागमन विभाग (इमिग्रेशन) ले क्वालालम्पुर बुकित बिन्ताङ अवस्थित जालान अलोर वरपर बुधबार राति गरेको छापामारी धरपकडमा नेपालीसहित १७६ जना अवैधानिक विदेशी कामदारहरुलाई पक्राउ गरेको छ।
गएको बुधबारको अपरेसन सार्वजनिक गुनासो र गुप्तचरको आधारमा क्वालालम्पुर सिटी हल (DBKL) सँगको सहकार्यमा जालान आलोरमा गरिएको छापामारीको क्रममा अवैधानिक हैसियतमा रहेका ७१ जना बंगलादेश, म्यानमारका ६०, इन्डोनेसियाका २४, नेपालका १६, पाकिस्तानका तीन, इजिप्ट र सुडानका एक–एक जना नागरिक पक्राउ परेको जानकारी
क्वालालम्पुर अध्यागमन विभागका निर्देशक वान मोहम्मद साउपी वान युसुफले गराउनु भएको छ ।
पक्राउ परेकाहरुको विरुद्ध “अध्यागमन ऐन १९५९/६३ को दफा ६(१)(ग) र दफा १५(१)(ग) र साथै अध्यागमन नियम १९६३ को नियमावली ३९(बी) बमोजिम मुद्दाको अनुसन्धान भइरहेको छ । वैध कागजात नभएको र देशमा बढी बसेको पाइएको छ। “पक्राउ परेका सबैलाई कागजात प्रक्रिया र थप कारबाहीका लागि क्वालालम्पुर अध्यागमन मुख्यालयमा लगिएको जानकारी प्राप्त भएको छ ।
मलेसियाले पछिल्लो समय यहाँ अवैधानिक हैसियत अर्थात अध्यागमन कानुन उलंघन गरेका विदेशीहरु विरुद्ध तीब्र धरपकडको कार्य गरिरहेको छ । मलेसियामा अध्यागमनद्वारा पक्राउ परेमा कम्तिमा पनि ३ महिना जेल सजाय र मलेसियन रिङ्गेत १० हजार जरिवाना अथवा दुबै सजाय हुन सक्ने कानुनी प्रावधानमा रहेको छ।





