समाज

    लक्ष्मीनारायण सङ्ग्रहालय सञ्चालनमा

    दिप्शन गुरुङ
    २०८१ पुस २६ | बिहान १०:०९ बजे
       

      पाल्पा । पाल्पाको रामपुर नगरपालिकामा रहेको लक्ष्मीनारायण सङ्ग्रहालय सञ्चालनमा आएको छ। लक्ष्मीनारायण धर्मशालालाई अहिले सङ्ग्रहालयको रूपमा परिणत गरी सञ्चालनमा ल्याइएको हो।

      रामपुर–४ खोप्टारमा करिब दुई सय वर्ष पुरानो उक्त धर्मशालाको पुनर्निर्माणपश्चात् रामपुर नगरपालिका, स्थानीय जनप्रतिनिधि, स्थानीयवासी, सरोकारवालालगायतको पहलमा सङ्ग्रहालय स्थापना गरिएको हो। गाउँघरमा प्रचलनमा रहेका पुराना ऐतिहासिक वस्तु तथा विभिन्न जातजातिका वेशभूषा सङ्ग्रह गरी यहाँ राखिएको लक्ष्मीनारायण पाटी सङ्ग्रहालय समितिका अध्यक्ष कविता मल्लले जानकारी दिइन्।

      विभिन्न व्यक्तिबाट प्राप्त भएका सामग्री सङ्कलन गरी सङ्ग्रहालयमा राखिएका छन्। यहाँ विभिन्न जातजातिसँग सम्बन्धित पोसाक रहेका छन्। धर्मशालाको तल्लोतलामा पुराना सामग्री र दोस्रो तलामा विभिन्न जातजातिसँग सम्बन्धित पोसाक राखिएका छन्। कालीगण्डकी बेँसी क्षेत्रको पहिचानको रूपमा रहेको यस धर्मशालाको इतिहासलाई जीवन्त राख्न पुनर्निर्माण गरी सङ्ग्रहालय सञ्चालन गरिएको रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए।

      नगरपालिकाबाट प्राप्त रु दुई लाखले यस वर्ष बारबन्देजको काम गरिएको छ। वडा नं ४ को वडा कार्यालयबाट विनियोजित रु एक लाख खर्च गरेर  सङ्ग्रहालयमा बिजुली बत्तीको व्यवस्था गरिएको वडाध्यक्ष रामबहादुर रानाले जानकारी दिए। यसको रेखदेख र संरक्षण गर्न स्थानीय तहले आवश्यक सहयोग गर्ने उनले बताए।

      लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाको स्वामित्वमा धर्मशाला (गुठी) का रूपमा सञ्चालन हुँदै आएको थियो। पुरानो धर्मशाला भुइँतलासहित तीनतले छ कोठा, दायाँ र बायाँ एक/एक वटा बालापालीको थियो भने छानो झिँगटीको थियो। पहिला झिँगटीले छाइएको थियो भने अहिले लामो समयसम्म झिँगटीले काम नगर्ने भएपछि जस्तापाताले छाइएको छ।

      ‘पौराणिक इतिहास बोकेको धर्मशाला रामपुरको चिनारी भएकाले पुनर्निर्माणपश्चात् सङ्ग्रहालय बनाइएको हो, पुराना सामग्री खोजी गरी संरक्षण गरेर राखेका छौँ, अध्ययन अवलोकन गर्ने थलो बनाएका छौँ,’ लक्ष्मीनारायण गुठी सञ्चालन समितिका अध्यक्ष बुद्धिप्रकाश रेग्मी बताउँछन्।  

      धर्मशालालाई २०७२ सालको भूकम्पले क्षति पुर्‍याएपछि पुरातत्त्व विभागको रु तीन करोड ६ लाख ५३ हजारको लागतमा पुरानै शैलीमा पुनर्निर्माण गरिएको हो। अहिले यहाँ दैनिक दुई सयभन्दा बढी आन्तरिक पर्यटक अवलोकन गर्न पुग्ने गरेका छन्। धर्मशालालाई पुरानै शैलीमा पुनर्निर्माण गरिएपछि पर्यटक यसतर्फ आकर्षित भएका हुन्।  

      एक रोपनी क्षेत्रफलमा धर्मशाला निर्माण गरिएको छ। उक्त धर्मशाला १८८९ सालअघि निर्माण गरिएको ताम्र पत्रमा उल्लेख छ। यही धर्मशालामा २०२५ सालमा रामतुलसी मावि आठ महिना सञ्चालन भएको बूढापाका बताउँछन्। विसं १८७९ मा साविक रामपुर गाविस–८ का समाजसेवी तुल्सीराम रेग्मीले गुठी निर्माण गरेका हुन्। तत्कालीन समयमा यस क्षेत्रमा भित्रिने विशिष्ट व्यक्तिको स्वागत, बसोबास र धर्मशालाका रूपमा गुठी निर्माण गरिएको हो। तत्कालीन समयमा बाटोमा हिँड्दा बटुवाका लागि बाँस बस्ने प्रयोजनका लागि गुठीको निर्माण गरी सोहीअन्तर्गत धर्मशाला बनाइएको थियो।  

      टाढाको गन्तव्य तय गर्ने र दिनहुँ हिँड्नुपर्दा बीचमा बाँस बस्ने व्यवस्था नहुँदा यही धर्मशालामा रात बिताउने गर्दथे। पछिल्लो समय धर्मशाला प्रयोगविहीन भएको थियो। विसं २०७२ को भूकम्पले यसलाई क्षति गरेपछि यो जीर्ण बनेको थियो। धर्मशालासँगै त्यस आसपासमा लक्ष्मीनारायण गुठी सञ्चालन समितिको नाममा झण्डै दश रोपनी जग्गा छ। रेग्मी परिवारका सदस्यबाट मात्रै सञ्चालन हुँदै आएको यस लक्ष्मीनारायण धर्मशाला (गुठी) समुदायलाई हस्तान्तरण गरिएको हो। पहिला बटौली (हालको बुटवल) बजारमा सामान लिन जानआउनेका लागि यही धर्मशाला बास बस्ने ठाउँ थियो।

        कमेन्टहरु