समाचार

    मुकारुङ, बस्नेत र थापालाई सम्मान

    दिप्शन गुरुङ
    २०८१ मंसिर २० | मध्यान्ह १२:०८ बजे

      काठमाडौं । स्वरसम्राट नारायणगोपालको ३४औँ स्मृति दिवसका अवसरमा तीन श्रष्टालाई सम्मान गरिएको छ । नारायणगोपाल संगीत कोषले बुधबार साँझ एक कार्यक्रम आयोजना गरी ‘नारायणगोपाल स्मृति सम्मान २०८१’ मार्फत संगीततर्फ संगीतकार बुलु मुकारुङ, गायनतर्फ कुमार बस्नेत र गीत रचनातर्फ शिवशंकर थापालाई सम्मान गरिएको हो ।

      स्वरसम्राट नारायणगोपालसँग नजिक रहेका र संगीतमा विशेष योगदान दिएका श्रष्टालाई योगदानको कदरस्वरूप जनही ५१ हजार रुपैयाँ नगद र ताम्रपत्रबाट सम्मान प्रदान गरिएको कोषका अध्यक्ष दीपक केसीले जानकारी दिए । 

      “स्वरसम्राट नारायणगोपालको विषयमा हामीले जति चर्चा गरे पनि पुग्दैन”, उनले भने, “अहिलेको पुस्ताले पनि उहाँको गीत मन पराउनाले उहाँको गीतसंगीत कति बुलन्द रहेछ भन्ने प्रस्ट्याउँछ । उहाँले नेपालीलाई कालजयी गीत दिनुभएको छ ।”

      अध्यक्ष केसीले बुधबार देशभर उनको सम्झनामा विभिन्न कार्यक्रम पनि भएका जानकारी दिए । उनले धुम्वाराहीमा नारायणगोपाल संगीत कोषले आफ्नो भवन निर्माण गरिरहेको पनि बताए ।

        कमेन्टहरु