समाचार

    छठमा वाग्मती नदीमा धाप ड्यामको पानी छाडिने

    रासस
    २०८१ कार्तिक २१ | बिहान ०६:०७ बजे

      प्रगति ढकाल


      काठमाडौं । पछिल्ला केही वर्षयता काठमाडौंमा पनि छठ पर्व मनाउन थालिएको छ । यसपटक पनि छठ सुरु भइसकेपछि काठमाडौं उपत्यकाका नदी, पोखरी तथा तलाउ छेउमा सजावट सुरु भइसकेको छ । उपत्यकामा पनि छठ पर्व मनाउने तयारी सुरु भइसकेपछि वाग्मती नदीमा पानीको सतह बढाउने पनि तयारी भइरहेको छ ।

      एकीकृत वाग्मती सभ्यता विकास समितिअन्तर्गत वाग्मती सुधार आयोजनाले छठ पर्वमा धाप ड्यामको पानी वाग्मती नदीमा छाड्ने तयारी गरिहेको जनाएको छ । वाग्मती नदीमा पानीको सतह बढाउन र व्रर्तालुलाई स्नानका लागि सहज होस् भन्ने उद्देश्यले ड्यामको पानी नदीमा छाड्ने तयारी गरेको हो । 

      आयोजनाका उप–निर्देशक तथा सूचना अधिकृत उद्धव नेपालले बुधबार साँझदेखि पानी नदीमा छाड्ने तयारी भइरहेको जानकारी दिए । “धाप ड्यामको पानी छाडेपछि पशुपति क्षेत्रसम्म आइपुग्न १४ घण्टा लाग्छ, तसर्थ छठको अघिल्लो दिनबाटै पानी छाड्ने तयारी गरेका हौँ”, उनले भने, “विषेश दिनमा हामीले ड्यामको पानी वाग्मतीमा छाड्दै आएका छौँ ।” 

      प्रतिसेकेण्ड चार सय लिटर 

      समितिले छठ पर्वको दुई दिनसम्म वाग्मती नदीमा प्रतिसेकेण्ड चार सय लिटर पानी  छाड्ने तयारी गरिरहेको जनाएको छ । “ड्यामको पानी नदीमा छाड्दा व्रतालुको घुँडासम्म पानी आउने अनुमान गरेका छौँ, त्यसो हुँदा व्रतालुहरुलाई स्नान गर्न र पानी चढाउन सहज हुन्छ”, नेपालले भने, “मेलम्ची खानेपानी विकास समितिसँग पनि पानी छाड्नका लागि आग्रह गर्ने छौँ ।”

      मेलम्ची खानेपानी विकास समिति भन्छ– दश करोड लिटरसम्म छाड्न सक्छौँ 

      मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले आधिकारिक रुपमा पानी छाड्न आग्रह गरिएको खण्डमा दैनिक १० करोड लिटरसम्म मेलम्चीको पानी उपलब्ध गराउन सकिने जानकारी दिए । “मनसुनजन्य विपदबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन केही महिना आयोजना नै बन्द गर्नुपरेको थियो । त्यसबेला धाप ड्यामकै पानी ल्याएर काठमाडौंका उपभोक्तालाई खानेपानीको आवश्यकता पूरा गरेका थियौँ”, उनले भने, “हामीले सापटीका रुपमा पानी ल्याएका थियौँ । अहिले दैनिक पाँच करोड लिटरसम्म बढी भएको पानी वाग्मती नदीमै बगाएका छौँ, आवश्यक परेमा छठ पर्वको समयमा दैनिक १० करोड लिटरसम्म पानी वाग्मती नदीमा बगाउन सक्छौँ ।”

      मेलम्ची खानेपानी आयोजनाबाट हाल दैनिक २५ करोड लिटर बराबरको खानेपानी उपत्यकामा दैनिक आउने गरेको उनको भनाइ छ । लामिछानेले उपभोक्तामा २५ करोड लिटर पानी खपत नभएपछि बाँकी रहेको पानी वाग्मती नदमा पानीको सतह बढाउन छाडिने गरेको बताए । 
       
      धाप ड्याम एक महत्व अनेक 

      काठमाडौं उपत्यकाको पूर्वोत्तर गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप ड्याम धार्मिक, सांस्कृतिक एवं इतिहाससँग पनि गाँसिएको छ । योसँगै यस ड्यामले वाग्मती नदीमा पानीको सतह बढाएर नदीको सौन्दर्यता कायम गर्न समेत सहयोग पुगेको समितिको भनाइ छ । 

      पर्यटकीय महत्व पनि उस्तै 

      धाप ड्याम निर्माण सम्पन्न भइसकेपछि ड्याम अवलोकन गर्न जानेहरुको पनि चहलपहल बढेको छ । काठमाडौंको चाबहिलबाट करिब ३५ किलोमिटर दूरीमा रहेको यो ड्यामको अवधारणा झण्डै एक दशक अगाडि सुरु भएको थियो । दुई वर्षअघि मात्रै यसको उद्घाटन भएको थियो । 

      शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जका वार्डेन दिलबहादुर पुनले धाप ड्याम निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्न थालेको जानकारी दिए ।  

      वर्खामा पानी जम्मा गर्ने, हिउँदमा नदीमा छाड्ने 

      धाप ड्याममा बर्खामा आकाशबाट परेको पानी जम्मा गर्ने र हिउँदको समयमा वाग्मती नदीमा छाड्ने लक्ष्यका साथ आयोजना निर्माण गरिएको थियो । वर्खामा यहाँ जम्मा गरिएको पानी हिउँदको समयमा प्रतिसेकेन्ड चार सय प्रतिलिटरका दरले वाग्मतीमा छोडिने आयोजनाको लक्ष्य छ । 

      एशियाली विकास बैंकको रु ८९ करोड सहयोगमा निर्माण भएको जलाशययुक्त धाप ड्यामबाट मुख्य पर्वमा वाग्मती नदीमा पानी छोड्ने गरिन्छ । ड्यामको लम्बाइ १७४ दशमलव सात मिटर र चौडाइ आठ मिटर छ । बाँध निर्माणपछि बनेको जलाशयको क्षेत्रफल १५ हेक्टर रहेको छ । आयोजनाका अनुसार यो ड्याममा हाल साढे १३ लाख घनमिटर पानी जम्मा भएको छ ।

      सम्भव भएन दैनिक पानी छाड्न 

      धाम ड्याममा जम्मा भएको पानी हिउँदको सुक्खा अवधिभर दैनिक रुपमा वाग्मती नदीमा पानी छाड्ने सरकारको आयोजनाको लक्ष्य कार्यन्वयनमा भने चुनौती देखिएको छ । नदीमा पानीको सतह बढाउन आवश्यकता अनुसार ड्याममा पानी जम्मा हुन नसकेपछि दैनिक रुपमा पानी छाड्न नसकिएको उप–निर्देशक नेपालको भनाइ छ । 

      “हिउँदको सुक्खा समयमा वाग्मतीमा पानीको सतह बढाउन प्रतिसेकेण्ड ४० लिटर पानी बगाउने योजना बनाएका थियौँ ।तर त्यति परिणामले खासै उपलब्धि नहुने रहेछ”, उनले भने, “परिणाम देखिनका लागि प्रतिसेकेण्ड चार सय लिटर पानी आवश्यक पर्छ,  त्यति पानी छाड्नका लागि ड्यामको क्षमता छैन ।”

      उनले हाल नागमती ड्याम निर्माणको तयारी भइरहेको र नागमती ड्याम निर्माण सम्पन्न भएपछि नदीमा पानी बढाउन सम्भव रहेको बताए । “अहिले शिवरात्रिमा तीन दिन, बालाचतुर्दशीमा दुई दिन, मातातिर्थ औसीमा एक दिन, छठ पर्वमा दुई दिन, मकर संक्रान्तीमा एक दिन पानी छाड्छौँ । यसैगरी हरिबोधनी एकदशीमा एक दिन, माधव नारायण मेलाको पहिलो र अन्तिम दिन गरी दुई दिन, रामनवमीमा एक दिन, नयाँ वर्षमा एक दिन ड्यामको पानी वाग्मती नदीमा बगाइन्छ”, उनले भने ।  

      मेलम्ची र वाग्मतीबीच पानी साटफेर 

      गत जेठमा मेलम्ची खानेपानी विकास समिति र काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) तथा वाग्मती सुधार आयोजनाबीच मेलम्ची खानेपानी आयोजना बन्द भएको समयमा धाप ड्यामबाटै खानेपानी ल्याएर उपोक्तालाई पानीको आपूर्ती सहज गर्ने सहमति भएको थियो ।

      धाप ड्यामको पानी सुन्दरीजल पानी प्रशोधन शाखामार्फत केयूकेएललाई प्रवाह गर्ने सहमति भएको थियो । उक्त सहमतिमा सुक्खा यामको समयमा भने सुन्दरीजल पानी प्रशोधन शाखाको ३० नम्बर गेटबाट मेलम्चीको पानी शोधभर्नाको स्वरुप वाग्मती नदीमा प्रवाह गर्ने उल्लेख छ ।
       
      वर्षा याममा मनसुनसुन्य विपदबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन मेलम्चीको ढोका बन्द गरिएको थियो । मेलम्ची बन्द भएपछि उपत्यकामा पानीको अभाव हुन नदिन धाप ड्यामको पानी केयूकेयललाई सापटी दिइएको हो । 

      नागमती ड्याम पनि बन्दै 

      वाग्मतीमै पानीमा सतह बढाउने लक्ष्यका साथ नागमती ड्याम पनि निर्माण हुने भएको छ । चालु आर्थिक वर्षभित्र निर्माण सुरु हुने तयारी भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जानकारी दिएको छ । 

      मन्त्रालयका अनुसार २५ अर्ब लागत लाग्ने अनुमान गरिएको यस परियोजनाको वातावरणीय प्रभाव मूल्याकंनका लागि वन तथा वातावरण मन्त्रालय पुगेको छ । उक्त ड्याम निर्माण पूरा भएमा सुक्खा यामको नौ महिनामै वाग्मती नदीमा वर्षा याममा जस्तै पानी बग्नेछ ।

        कमेन्टहरु