अर्थ

    पाल्पा रामपुरको एउटै फार्मबाट दुई लाखको फूल बिक्री

    नवलपुर टुडे
    २०८१ कार्तिक १९ | मध्यान्ह ०५:०७ बजे
    फाइल तस्बिर

      रामपुर । पाल्पाको रामपुरमा रहेको एउटा फार्मबाट फूलमाला बिक्री गरेर रु दुई लाख बढीको आम्दानी भएको छ । तिहार अर्थात् भाइटीकाका अवसरमा सयपत्री फूल तथा माला बिक्री गरेर ‘हाम्रो आधुनिक कृषि फार्म’ले उक्त आम्दानी गरेको हो ।

      फार्मका सञ्चालक दिलबहादुर थापाले सयपत्री फूलले राम्रो बजार पाएको र यसबाट मनग्य आय आर्जन भएपछि व्यवसायमा उत्साह थपिएको बताए । तीन दिनको अवधिमा बारीमा लगाएको सबै फूल बिक्री भएको उनले बताए ।

      बुटवल, तानसेन, पोखरालगायत बजारबाट माग आएको भए पनि बाहिर पठाउन नसकिएको अर्का सञ्चालक लालबहादुर थापा बताउँछन् । बारी भरि लगाइएको फूल सकिँदा पनि माग उत्तिकै आएको उनको भनाइ छ ।

      फूलबाट पर्याप्त आम्दानी भएपछि पाँच वर्षदेखि यसको खेती गर्दैआएको थापाको भनाइ छ । प्रतिकिलो फूल रु पाँच सय र प्रतिमाला रु एक सय ५० मा बिक्री भएको थापाले बताए ।

      हरेक वर्ष तिहारमा फूलमाला माग अनुसार पुर्याउन नसकिएको उनको भनाइ छ । यस वर्ष करिब चार रोपनी जग्गामा लगाएको फूल सबै बिक्री भएको छ ।

      स्थानीयस्तरमा नै फूलले राम्रो व्यापार पाएको छ । गाउँघरमा पनि विद्यालय, विभिन्न सङ्घ संस्थाको आयोजनामा लक्ष्मीपूजा तथा दीपावली मनाइने चलन पछिल्लो समय बढ्दो रहेकाले फूलमालाको खपत राम्रो हुने गर्दछ । 

      भाइटीकाका दिन लगाउन मात्र नभई तिहार पर्व सुरु भएदेखि नै घर, विद्यालय तथा सङ्घसंस्थामा सजाउन, पूजाआजा गर्न सयपत्री फूल खोज्ने भएकाले हिजोआज फार्ममा फूल खरिद गर्न ग्राहक बढेका छन् ।

      यहाँ हरेक वर्ष रु दुई लाखदेखि रु तीन लाख बराबरको फूलको माला बिक्री हुँदै आएको सञ्चालक थापाले बताए । 

       

        कमेन्टहरु