घटना, दुर्घटना, मुख्य समाचार, विचार/ब्लग, समाचार, सुदुरपश्चिम प्रदेश

    काल बन्दै सुदूर पहाडका भीरपाखा

    प्रशान्त बोहरा
    २०८१ कार्तिक १२ | बिहान ०८:०७ बजे

      बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिका–४ दिउनाकी ६५ बर्षीया हिरा बिष्ट गएको शुक्रबार बिहान खर काट्नका लागि घर नजिककै उच्चाइनी भीरमा पुगिन् । खर काटेर साँझ घर फर्कने उनको दैनिकीले त्यही विश्राम लियो । खर काट्ने क्रममा भीरबाट लडेर उनको घटनास्थलमै मृत्यु भयो ।

      अहिले बैतडीसहित सुदूर पहाडका जिल्लाहरुमा खर काट्ने चटारो बढेको छ । असोज–कार्तिकमा खर काटेर वस्तुभाउका लागि थुप्रो बनाएर राख्ने चलन रही आएको छ । खर काट्नका लागि महिलाहरु भीरपाखामा जाने गर्दछन् । खर काट्ने क्रममा धेरै महिलाले अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता रही आएको छ ।

      हिजोआज सुदूरपश्चिमका पहाडी जिल्लामा भीरबाट लडेर मृत्यु हुने महिलाको संख्या बढ्दै गएको छ । खर काट्नका लागि महिलाहरु भीरपाखामा जाने र अप्ठ्यारो भीरबाट लडेर मृत्यु हुने महिलाको संख्या धेरै रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए ।

      कतिपय घटनाहरु प्रहरीमा नआउने भएकाले भीरबाट ज्यान गुमाउनेको संख्या प्रहरीसंग भएको तथ्यांकभन्दा पनि बढी हुन सक्ने आँकलन गरिएको छ ।

      गाउँघरमा खर काट्नका लागि महिलाहरु भीरमा जाने र कतिपयको अकालमै ज्यान जाने गरेको रौलेश्वर मावि रामकी बरायलका प्रधानाध्यापक गोपालसिंह मडैले बताए ।

      जिल्ला प्रहरी कार्यालय बैतडीको तथ्यांक अनुसार आर्थिक बर्ष २०७८ ÷७९ मा भीरबाट लडेर ३ महिलाको मृत्यु भएको थियो । उनीहरु खर काट्नका लागि भीरपाखामा गएका र त्यहीँबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त आर्थिक बर्षमा ३ महिला र ३ पुरुष गरेर ६ जनाले भीरबाट लडेर ज्यान गुमाएका थिए ।

      यस्तै आर्थिक बर्ष २०७९÷८० मा भीरबाट लडेर ८ महिलाले ज्यान गुमाएका थिए । उक्त बर्ष ९ पुरुषको पनि भीरबाट लडेर ज्यान गएको प्रहरीको तथ्यांक छ ।

      गत आर्थिक बर्षमा ५ महिला र ६ पुरुष गरेर ११ जनाले भीरबाट लडेर ज्यान गुमाएका छन् ।

      चालु आर्थिक बर्षको अहिलेसम्म भीरबाट लडेर तीन जना महिलाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । प्रहरीको तथ्यांकमा आएको संख्या यो भएपनि कतिपय घटनाहरु प्रहरीमा दर्ता नहुने भएकाले भीरबाट लडेर ज्यान गुमाउनेको संख्या अझै धेरै हुन सक्ने बताइएको छ ।

        कमेन्टहरु