वीरगञ्जबाट ४ करोड ८६ लाख भन्दबढी मूल्य बराबरको भेप बरामद


वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले ठूलो परिणाममा इलेक्ट्रिक चुरोट (भेप) बरामद गरेको छ । वीरगन्ज महानगरपालिका ६ मा रहेको रेलवे रोडबाट पर्सा प्रहरीले १५ हजार २ सय थान भेप बरामद गरेको हो।
यति ठूलो परिणाममा भेप बरामद गरेको यो पहिलो पटक भएको पर्सा प्रहरीको भनाइ छ। बरामद भेपको बजार मूल्य करिब ४ करोड ८६ लाख २४ हजार ८०० रुपैयाँ रहेको पर्सा प्रहरीले जनाएको छ।
गोदाममा अनाधिृकत रुपमा भेप भण्डरण गरिएको सूचना पाएपछि छापा मार्दा डाँफे ट्रान्सपोर्टबाट ७६ कार्टुन भेप बरामद गरेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए। बरामद हरेक कार्टुनमा २ सय पीस भेप छ।भन्सारबाट बरामद भएको थोरै थान भेपका आधारमा खोजी गर्दै जाँदा यति धेरै भेप बरामद भएको प्रहरी प्रमुख ढुंगेलले बताए।
रेल्वेरोड बस्ने रामप्रसाद बैरेको घरमा कोठा भाडामा लिएर भारत विहारका सुदामा प्रसादले अनाधिकृतरूपमा उक्त भेप भण्डारण गरेको ढुंगेलको दाबी छ। बरामद भेपबारे थप अनुसन्धान सुरु भएको पर्सा प्रहरीले जनाएको छ।





