देश

    आज ६ वटा संसदीय समिति बैठक बस्दै

    नवलपुर टुडे
    २०८१ साउन २४ | बिहान ०७:०४ बजे

      काठमाडौं । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ । बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा नेपालको पुँजीबजार सम्बन्धी समसामयिक विषयमा धितोपत्र बोर्डसँग छलफल गर्ने कार्यसूची छ । 

      कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा बेपत्ता पारिएका व्यक्तिको छनबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकमा छलफल हुनेछ । 

      राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्वन्धमा छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्ने समयतालिका छ । 

      शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यसूची छ । बैठक दिउँसो साढे १ बजे बस्नेछ । 

      सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुरातात्विक महत्वका सम्पदाको अवस्था, ग्यालरी बैठकभित्र रहेका पुरातात्विक वस्तुहरुको संरक्षण सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । 

      मध्याह्न साढे १२ बजे बस्ने बैठकमा पुरातत्व विभागका महानिर्देशकलाई बोलाइएको छ । 

      संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा डेंगी, हैजालगायतका सरुवा रोग संक्रमणको हालको अवस्था, नियन्त्रणका लागि मन्त्रालय र यस अन्तर्गतका निकायबाट भए गरेका कामकारबाही, समस्या र भावी कार्ययोजना तथा समग्र स्वास्थ्य क्षेत्रको सुधारको कार्ययोजनामा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  
       

        कमेन्टहरु