राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन गृहमन्त्रीको निर्देशन


काठमाडौं । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । बुधबार सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निरीक्षण गर्दै उनले राष्ट्रिय परिचयपत्र वितरण कार्य सुस्त भएको बताउदैँ यस्तो निर्देशन दिएका हुन् ।
उनले भने, ‘राष्ट्रिय परिचयपत्र बनाउन १ करोड ५१ लाखको विवरण संकलन भइसकेको छ । कार्ड छपाई ४३ लाख भइसकेको छ । ७६ लाख कार्ड छाप्न बाँकी छ,’ वितरणको संख्या एकदम कम भयो । अरु सबै कुरा ठीक छ । ८ लाख ४७ हजार मात्र हामीले वितरण गरौं । वितरणको पाटोलाई तीव्रता दिनुहोला ।’
गृहमन्त्री लेखकले राष्ट्रिय परिचयपत्र सरकारको सुशासन सम्बन्धित रहेको पनि बताउदैँ भने, ‘नागरिकलाई राज्यले कुनै पनि सुविधा प्रधान गर्ने कुरामा राष्ट्रिय परिचयपत्र माध्यम हुने भएकाले यो सुशासनको महत्वपूर्ण पाटो हो । यो राज्यको भविष्यसँग जोडिएको छ । यसमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले प्रशंसनीय काम गरेको छ ।’

राष्ट्रिय परिचयपत्र बनाउने अभियानलाई अनुदानसँग जोड्ने गरी निर्णय गरेर ल्याउन राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा महानिर्देशक युवराज कटेललाई गृहमन्त्री लेखकले निर्देशन दिएका छन् । उनले निर्देशन दिँदै भने, ‘यसलाई तपाईहरु अनुदानसँग जोड्ने गरी निर्णय गरेर ल्याउनुहोस् । हामी सम्बन्धित निकायमा पठाएर अगाडि बढाएर लैजान्छौं ।’





