देश

    एक महिनापछि अवकाशमा जाँदैछन् एआईजीसहित ११ एसएसपी र ३० डीएसपी

    नवलपुर टुडे
    २०८१ साउन १६ | मध्यान्ह ०२:०४ बजे

      काठमाडौं । प्रहरी निरीक्षकमा २०५१ चैत ५ मा भर्ना भएका उच्चप्रहरी अधिकारीहरू एकपछि अर्को गरी अवकाशमा जाँदैछन् । गएको वैशाखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) द्वय सन्दीप भण्डारी र मीरा चौधरीले अवकाश पाए । त्यसको दुई महिनापछि अर्का एआईजी उमेशराज जोशीले असार १९ गते अवकाश पाए । उनीहरूसँगै उनकै ब्याची डीआईजीद्वय पोषराज पोखरेल र सुरेन्द्र मैनालीलेसमेत असारमै अवकाश पाए ।

      अवकाशको क्रम जारी छ । एक महिनापछि अर्का एआईजी हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा कार्यरत श्यामलाल ज्ञवालीले पनि अनिवार्य अवकाश पाउँदै छन् । कोही उमेरका कारण सेवावधि बाँकी हुँदै अवकाश गए र जाँदैछन् भने कोही तीस वर्षे सेवाधिका कारण अनिवार्य अवकाशमा जाँदैछन् । प्रहरीमा तीन आधारमा अवकाश पाउँछन् । जसमा उमेर, पदावधि र प्रहरीको सेवाअधि गणना हुने गर्छ । 

      २०५१ मा भर्ना भएका अधिकारीहरू सेवा अवधि र पदावधि नभई डीआईजी र एआईजीको ५६ वर्षे उमेर हदका कारण अवकाश पाउन लागेका हुन् । ज्ञवाली भदौ २५ मा अवकाशमा जाँदै छन् । उनीपछि हाल एआईजीमा बढुवा सिफारिस भएका रामदत्त जोशी कार्तिक १८ गते अवकाशमा जानेछन् । एआईजी किरण बज्राचार्य मंसिर १७ र भीम ढकालले मंसिर २८ मा अवकाश पाउने छन् ।

      एआईजीबाहेक डीआईजी केदार ढकाल, राजेश बास्तोला, किरण राणा पनि कार्तिक–मंसिरमा अवकाशमा जाने छन् । उनीहरू प्रहरीको ३० वर्षे सेवाअवधि बाँकी रहँदै अवकाश पाउने छन् । प्रहरी अधिकारीहरू प्रहरीको विद्यमान व्यवस्थाका कारण अनुभवी र काम गर्ने जोश–जाँगर हुँदा हुँदै अवकाशमा जानुपर्ने व्यवस्था संशोधन गर्न धारणा राख्दै आएका छन् ।  अनुभवी पात्रहरू चाँडै अवकाशमा जाँदा राज्यलाई नोक्सान भएको तर्क बेलाबखत आउने गर्छ । 

      नयाँ गृहमन्त्री नियुक्ति भए लगत्तै प्रहरी ऐन र नियमावली परिमार्जन आवश्यक भएको धारणा राख्छन् । तर, यसले पूर्णता पाउन सकेको छैन ।गृहमन्त्री रमेश लेखकले समेत प्रहरी ऐन संशोधनसम्बन्धीको विधेयक एक महिनाभित्र संसदमा पेस गर्ने बताएका छन् । विधेयकमा प्रहरीको ३० वर्षे सेवा अवधि हटाउनेदेखि उमेरहदसमेत पुनरावलोकन गरेर प्रस्ताव लिने तयारी गरेको छ ।

      त्यसका लागि पूर्वमूख्यसचिव लिलामणि पौडेलसहित पूर्वआईजीसहितको समितिले सुझाव प्रतिवेदन समेत तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई बुझाएका थिए । 
       
      वैशाखयता अवकाशमा गएका र जान लागेको सबै उच्च अधिकारी हालका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरकै ब्याची हुन् । आईजी कुँवरले भने आउँदो चैतमा प्रहरीको ३० वर्षेसेवा अवधिका कारण अवकाश पाउने छन् । आईजीपी कुँवरका ब्याचका अधिकांश प्रहरी अधिकारी उमेरहदका कारण अवकाशमा जाँदै आएका छन् ।

      एक महिनापछि ११ एसएसपी र ३० डीएसपी अवकाशमा

      उच्च प्रहरी अधिकारीसँगै उमेर र ३० वर्षे सेवा अवधिका कारण भदौ १६ मा ११ एसएसपीले समेत एक साथ अवकाश पाउँदैछन् । उनीहरू ३० वर्षेसेवा अवधिका कारण अवकाशमा जान लागेका हुन् ।  अवकाशमा जान लागेका एसएसपीहरूमा जीवनकुमार श्रेष्ठ, दिल्लीराज विष्ट, रेवती ढकाल, किसनसिंह थापा, रविकुमार पौडेल, नविनराज राई, वीरबहादुर वली छन् ।

      त्यस्तै, चन्द्रदेव राई, दिनेशराज मैनाली, बेलबहादुर पाण्डे र रविन्द्र रेग्मी एकसाथ अवकाशमा जाँदैछन् । एसएसपीबाहेक ३० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरूले समेत अवकाश पाउन लागेका छन । उनीहरू समेत ३० वर्षे सेवा अवधिकै कारण भदौ १६ मा अवकाश पाउन लागेका हुन् ।
       

        कमेन्टहरु