यातायात

    कालीगण्डकी करिडोर: ‘रक एंकरिङ’ प्रविधिबाट पहिरो रोकथाम गर्ने प्रयास सुरु

    नवलपुर टुडे
    २०८१ साउन १० | मध्यान्ह ०६:०४ बजे

      म्याग्दी । कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम सडकको बेनी–घाँसाखण्डको पहिरोग्रस्त क्षेत्रको अति जोखिमयुक्त पहिरोमध्येको एक बैसरी पहिरोमा  ‘रक एंकरिङ’ प्रविधिबाट पहिरो रोकथाम गर्ने प्रयास सुरु भएको छ । भीरको डिलबाट निरन्तर लेदोसहित ढुङ्गामाटो तल सडकमा खस्ने भएकोले दैनिक यातायात अवरुद्ध हुने मात्र होइन, मानवीय तथा भौतिक क्षति समेत ब्यहोर्नु परेको छ ।

      बेनी–जोमसोम–कोरला सडक आयोजनाले अहिले बैसरी पहिरोको माथि डिलमा खस्न ठिक्क परेका ठूला ढुंगाहरु ड्रिल गरी केमिकलको प्रयोगबाट बिष्फोट गरी फुटाएर खसाल्ने, माटो मान्छे लगाएर तल खसाइ माटो शुन्य बनाउन रक एंकरिङ र स्वायल नील गर्न थालेको हो ।

      कालीगण्डकी करिडोर आयोजनाले बैसरी पहिरोको डिलभागलाई ढु्ंगा माटो शुन्य बनाएपछि भीरको पत्थरमा ड्रिल गरी ठुला रड घुसाउने, बेसमा कंक्रिट गरी रडको आड लिएर ग्याभिन भर्ने र पहिरोको सिरानमा रहेको ठूलो पानीलाई नाली र पाइपबाट सुरक्षित स्थलमा पुर्‍याउने काम पनि एकसाथ भैरहेको जनाएको छ । रक एंकरिङ, स्वयलनेल, पहिरोमा पाइप घुसाएर पानी फाल्ने कामबाहेक बाँस रोप्ने, अन्य घाँस रोप्ने योजना छ ।

      ‘पहिरो अध्ययन विज्ञ टोलीले दिएको सुझाव अनुसार नै बैसरी पहिरोमा रक एंकरिङ, स्वयल नेलिङ र वाटर ट्रिटमेन्टको काम गरिरहेका छौं । पहिरोका ठूला ढु्ंगाहरु ड्रिलगरी केमिकल प्रयोगबाट फुटाएर हटाएपछि पहिरो रोकिने विश्वास गरेका छौं,’ बेनी–जोमसोम–कोरोला सडक आयाोजनाका फिल्ड सव इन्जिनियर सोहनजंग कार्कीले भने, ‘पहिरो रोकथाम गर्ने छुट्टै बजेट प्राप्त नभएपनि नियमित बजेटबाटै बेनी–घाँसा खण्डमा पहिचान गरिएका अति जोखिमयुक्त पहिरोमध्ये बैसरीबाट बायोइन्जिनियरिङ विधीबाट पहिरो रोकथाम काम सुरु गरेका हौं ।’

      आयोजनाले गत हिउँमा जियोलोजिष्टहरु समेत २० जना विभिन्न विषयका विज्ञहरुले परिचालन गरी बेनी–घाँसासम्मको पहिराहरुको भौगर्भिक अध्ययन गराएको थियो । सोही विज्ञहरुको टोलीले बेनी–लेतेसम्मको ३८ किलोमिटर सडक खण्डका वैसरी पहिरो, सिरुवारी पहिरो, गुइठेपहिरो र खामभित्ता पहिरो समेत ९ वटा पहिरोलाई ‘अति जोखिमपूर्ण’ पहिरा भनेको थियो ।

      जियोलोजिष्टहरु समेतका बेनी–जोमसोम सडकका पहिरो अध्ययन टोलीले जोखिमयुक्त पहिरो नियन्त्रण गर्न होरिजेन्टल ड्रेनदेखी रिटेनिङवाल, ब्रेष्टवाल, क्यास्केटिङवाल, रक एंकरिङ, स्वायल नेल, वायोइन्जिनियरिङ समेत पहिरो उपचार विधी सुझाएका थिए ।’

      आयोजनाले सडकको पहिरोग्रस्त ३८ किमी खण्डमा पानी पर्ने बित्तिकै पहिरो खस्ने भएकोले मनसुन अवधिभरका लागि स्काभेटर र लोडर स्ट्याण्डबाइ राखेको जनाएको छ । मनसुन सुरु भएपछि बेनी–लेते खण्डका यी पहिरोहरुले दिनमा कहीं न कहीं यातायात अवरुद्ध हुन्छन् । पहिरोग्रस्त भीरमाथिबाट पानी पर्दा निरन्तर लेदो र ढु्ंगा खस्ने भएकोले पैदल तथा सवारी साधनका यात्रु जोखिममा छन् ।

      अर्न्नपूर्ण र धौलागिरी हिमालको बीचबाट बग्ने कालीगण्डकी नदी कटानले संसारकै गहिरो ‘अन्धगल्छी’ चट्टानी पहिरोको उच्च जोखिम क्षेत्र हो । र यही अन्धगल्छीबाट कालीगण्डकी नदी किनारै किनार राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर अन्तर्गत बेनी–जोमसोम–कोरला सडक सडक विस्तार कार्यक्रम चालु छ । यो क्षेत्र कालीगण्डकी नदी तटिय बस्तीका लागि सधैँको त्रास पनि हो ।

      आयोजनाका इन्जिनियरहरुका अनुसार भीरपहरा बढी भएको यस क्षेत्रमा सडक खन्दा अति बढी रक ब्लाष्टिङ भएको तर विष्फोटनपछि गरिनु पर्ने ट्रिटमेन्ट नभएकोले वर्षेनि भीरपहरा फुटेर खस्ने, ‘रक फल’ समस्या देखिएको हो । आयोजनाले ९ वटा पहिरोको रोकथाम गर्न औषत ६ करोडको दरले ५४ करोडबढी लागत लाग्ने पूर्वानुमान गरेको छ । यो समाचार कान्तिपुरमा छ ।

        कमेन्टहरु