देश

    एक वर्षभित्रै कामु मुख्यसचिव र १७ सचिवको अवकाश

    नवलपुर टुडे
    २०८१ साउन ५ | मध्यान्ह १२:०४ बजे

      काठमाडौं, साउन ४ । चालु आर्थिक वर्ष २०८१/८२ मा नेपाल सरकारका कायममुकायम (कामु) मुख्यसचिव र अरू १७ सचिवहरूले अवकाश पाउने भएका छन् । निजामती कर्मचारीहरुको अभिलेख राख्ने निकाय राष्ट्रिय किताबखाना (निजामती)का अनुसार चालु आर्थिक वर्षमा २ हजार ११९ जना नेपाल सरकारका कर्मचारीले अवकाश पाउँदैछन् । त्यसमध्ये हाल कार्यरत १८ जना  विशिष्ट श्रेणी (सचिवस्तर) का  छन् ।

      चालु आर्थिक वर्षकै बीचमा केही वरिष्ठतम् सहसचिवहरु सचिवमा बढुवा भएर ५८ वर्षे उमेरहदका कारण यसै वर्ष अवकाश हुने पनि सम्भावना छ । अहिले नै त्यसको अड्कबाजी गर्न सकिंंदैन ।

      यो वर्ष राष्ट्रिय निजामती किताव कितावखानाका अनुसार चालु आर्थिक वर्षमा नेपाल प्रशासन सेवासहित, संसद सेवा, परराष्ट्र सेवा, इन्जिनियरिङ सेवा, नेपाल न्याय सेवा, नेपाल लेखा परीक्षण सेवाका विशिष्ट श्रेणीका कर्मचारीले अवकाश पाउने सम्भावित सूचीमा छन् ।

      अहिले ५८ वर्ष परा भएका सचिव अनिवार्य अवकासमा जाने व्यवस्था छ भने सचिव भएर ५८ वर्ष पुग्नुअघि नै ५ वर्ष सचिवका रुपमा सेवा अवधि पुरा गरेकाहरूले पनि अनिवार्य अवकाश पाउने व्यवस्था छ ।

      गत १ साउनदेखि आगामी असार मसान्तसम्म अवकाश पाउने पहिलो विशिष्ट श्रेणीकी कर्मचारी कायममुकायम मुख्यसचिव लिलादेवी गड्तौला हुनेछिन् । उनी आगामी १५ भदौमा अवकाश हुनेछिन् । ५८ वर्षे उमेर हदका कारण नेपाल न्याय सेवाकी सचिव रहेकी गड्तौला अवकाशमा जानेछिन् ।kp oli pm liladevi puskar

      राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली पनि अवकाशको मुखमा छन् । प्रशासन सेवाका उनी आगामी २२ भदौमा सचिवमा बढुवा भएको ५ वर्ष पुग्नेछ र अनिवार्य अवकाशमा जानेछन् ।

      ५ कात्तिकमा हालका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीको अवकाश तय छ । प्रशासन सेवा उनी ५ वर्ष सचिवका रुपमा कार्यकाल बिताएर विदा हुनेछन् ।

      आगामी १३ मंसिरमा सचिव मणिराम गेलाल ५८ वर्षे उमेर हदका कारण अवकाशमा जाने छन् । इन्जिनियरिङ सेवाका सचिव गेलाल हाल शहरी विकास मन्त्रालयमा सचिव छन् ।

      २८ मंसिरमा न्याय सेवाका सचिव तोयानाथ अधिकारी कार्यकाल बिट मार्दै घर जानेछन् । हाल कानून आयोगमा कार्यरत अधिकारी ५८ वर्षे उमेर हदका कारण अवकाश पाउनेको सूचीमा छन् ।

      २० माघमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराईले अवकाश पाउनेछन् । प्रशासन सेवाका सचिवका रुपमा ५ वर्षे कार्यकाल पूरा गरेर उनी अवकाश हुनेछन् ।

      नेपाल स्वास्थ्य सेवाका सचिव डा. रोशन पोखरेल ११ फागुनमा अवकाशमा जाने छन् । उनी ५ वर्ष स्वास्थ्य मन्त्रालयको सचिवका रुपमा कार्यकाल बिताएर विदा हुनेछन् ।

      १२ फागुनमा हाल निलम्बनमा रहेका प्रशासनतर्फका सचिव टेकनारायण पाण्डेको अवकाश हुनेछ । हाल नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर थुनामा रहेका उनले त्यतिबेला सचिवको ५ वर्षे सेवा अवधि पूरा गर्नेछन् ।

      अर्थसचिव रहेका प्रशासनतर्फका सचिव मधुकुमार मरासिनी पनि यसैवर्ष अवकाश हुनेको सूचीमा छन् । उनी ५८ वर्षे उमेर हदका कारण आगामी १६ फागुनमा घर जाने छन् ।

      १८ फागुनमामा अवकाश पाउने सचिव हुन् एकनाराण अर्याल । हाल गृहसचिव रहेका उनी ५ वर्षे कार्यकाल विताएर विदा हुनसक्ने कर्मचारीको सूचीमा छन् ।

      तर, सचिवहरु तोयानारायण ज्ञवाली, रामकृष्ण सुवेदी, दिनेश भट्टराई र एकनाराण अर्याल सम्भावित  मुख्यसचिवका प्रमुख दावेदार हुन् । उनीहरुमध्ये जसले मुख्यसचिव बन्ने मौका पाउनेछन्, उसले अवकाश नलिई थप तीन वर्ष निजामती प्रशासनको नेतृत्व गर्ने अवसर पाउनेछन् ।mukhyasachib toya ramkrishna disnesh eknarayan 1

      २ वैशाख २०८२मा ५ वर्ष सेवा अवधि पूरा गरेर सचिव अर्जुनप्रसाद पोखरेलको अवकाश हुनेछ । प्रशासन सेवाका उनी हाल राष्ट्रिय तथ्यांक कार्याालयमा राष्ट्रिय तथ्यांक अधिकारीका रुपमा काम गरिरहेका छन् ।

      २ वैशाख २०८२मा नेपाल न्याय सेवाकी सचिव निर्मला पौडेल भट्टराईको अवकाश हुनेछ । प्रकासकीय अदालतमा रजिस्ट्रार रहेकी उनी ५८ वर्ष उमेर पुगेर अवकाशमा जानेछिन् ।

      २५ वैशाख २०८२मा प्रशासनतर्फका सचिव विनोदप्रकाश सिहंको अवकाश हुनेछ । हाल महालेखा नियन्त्रक रहेका सिंह पनि ५८ वर्षे उमेर हदका कारण विदा हुनेछन् ।

      ३० वैशाख २०८२ मा अर्का प्रशासन सेवाका अर्का सचिव गणेशप्रसाद पाण्डेय अवकाशमा जाने छन् । हाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव रहेका उनको पनि ५८ वर्ष उमेर पुगेका कारण आवकाश हुनेछ  ।

      २८ जेठ २०८२मा नेपाल न्याय सेवाका सचिव उदयराज सापकोटाको अवकाश तय छ । हाल सत्य निरुपण तथा मेलमिलाप आयोगमा कानुन सचिव रहेका उनी विशिष्ट श्रेणीमा ५ वर्षे सेवा अवधि पुरा गरेर विदा हुनेछन् ।

      ३० जेठ २०८२मा संघीय संसद सेवाका सचिव सुदर्शन खड्काको अवकाश हुनेछ । उनी ५ वर्ष सचिवका रुपमा कार्यकाल पूरा गर्दै रिटायर्ड हुनेछन् ।

      ५ असार २०८२मा परराष्ट्र सचिव सेवा लम्सालले अवकाश पाउनेछिन् । परराष्ट्र मन्त्रालयलको सचिव रहेकी उनी ५८ वर्षे उमेरहदका कारण अवकाशमा जाने तय छ ।

      ६ असार २०८२मा महालेखापरीक्षक कार्यालयका उपमहालेखा परीक्षक (विशिष्ट श्रेणी) बासुदेव शर्मा अधिकारी पनि ५८ वर्षे उमेर हदका कारण सेवाबाट विदा हुनेछन् ।

        कमेन्टहरु