देश

    भूकम्पको नौ वर्षपछि असनको ‘इटाचापा’ को पुनःनिर्माण

    रासस
    २०८१ असार ८ | मध्यान्ह ०२:०३ बजे

      काठमाडौं ।  विसं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको काठमाडौं महानगरपालिका–२७ असनस्थित ऐतिहासिक महत्वको सम्पदा ‘इटाचापा’ को पुनःनिर्माण सुरु भएको छ ।

      विसं १९९० को भूकम्प थेगेको यो सम्पदा २०७२ मा भत्केपछि यसको पुनःनिर्माणमा गुठी संस्थान र काठमाडौं महानगरपालिकाबीच केही समय हानथाप भएको थियो । सम्पदा महानगरअन्तर्गतको भएकाले वडाको पहलमा पुनःनिर्माण थालिएको वडा नं. २७ का अध्यक्ष योगेशकुमार खड्गीले जानकारी दिए । 

      ऐतिहासिक महत्वको यो सम्पदा दुई करोड ४९ लाख ३७ हजार रुपैयाँमा पुनःनिर्माण थालिएको हो । तीन वर्षभित्र पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्य छ । 

      यो भवनमा प्रत्येक वर्ष विजया दशमीको भोलिपल्ट कुमारीलाई खाना खुवाउने परम्परा छ । यसलाई नेपाल भाषामा ‘मरजा’ भनिन्छ । सोही दिन यहाँ अन्नपूर्णाको जात्रा पनि चलाइन्छ । 

      विसं २०४० सम्म ल्हासाबाट सामान ल्याउने व्यापारी १० दिनसम्म यहाँ बस्ने गरेका उनले बताए । ल्हासा–काठाडौं यात्राका क्रममा कुनै रोगको संक्रमण भए त्यो १० दिनमा प्रभावहीन हुने ठानेर उनीहरू एकान्तबास बसेका आफूले पनि देखेको वडा अध्यक्ष खड्गीले बताए ।

        कमेन्टहरु