देश

    राष्ट्रपति पौडेल जेनेभा प्रस्थान

    नवलपुर टुडे
    २०८१ जेष्ठ २९ | मध्यान्ह ०७:०२ बजे
    जेनेभा प्रस्थान गर्नु अगाडि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति रामचन्द्र पौडेललगायत ।

      काठमाडौँ, जेठ २९ । राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार साँझ स्वीट्जरल्याण्डको जेनेभा तर्फ प्रस्थान गर्नुभएको छ।

      president ramchandra poudel

      उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, उपप्रधानमन्त्री रघुवीर महासेठ, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठलगायत नेपाल सरकार र संवैधानिक अंगका प्रमुखले बिदाइ गर्नुभएको हो।  

      उहाँले यही जेठ ३१ गते सो अवसरमा उच्चस्तरीय सत्रमा आयोजना हुने ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को उद्घाटन मञ्चलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।  

      भ्रमणका क्रममा उहाँले  जेठ ३० गते स्वीस महासङ्घका राष्ट्रपति विओला आमर्डसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ। नेपालका राष्ट्र प्रमुख र स्वीस महासङ्घका राष्ट्रपतिबीच यसरी द्विपक्षीय भेटवार्ता हुन लागेको सम्भवतः यो पहिलोपटक भएको बताइएको छ।

      president ramchandra poudel2

      भ्रमणकै क्रममा राष्ट्रपति पौडेल आगामी असार १ गते जेनेभाबाट सङ्घीय गणतन्त्र जर्मनीको बर्लिन प्रस्थान गर्नुहुने मन्त्रालयलका प्रवक्ता अमृतबहादुर राईले  जानकारी दिनुभयो। राष्ट्रपति पौडेलले जर्मनीका राष्ट्रपति फ्रैङ्क–वाल्टर स्टीनमेयरको निमन्त्रणामा जर्मनीको औपचारिक भ्रमण गर्न लाग्नुभएको हो। उहाँले असार ३ गते जर्मनीका राष्ट्रपतिसँग औपचारिक भेटवार्ता गर्नुहुनेछ।

      prachanda TIA
      राष्ट्रपति पौडेलका साथ उहाँकी धर्मपत्नी सविता पौडेल रहनुहुनेछ। प्रतिनिधिमण्डलका अन्य सदस्यहरूमा राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरू, स्वीट्जरल्याण्ड र जर्मनीका लागि नेपाली राजदूतहरू तथा राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू हुनुहुन्छ। राष्ट्रपति पौडेल भ्रमण सम्पन्न गरी असार ५ गते स्वदेश फर्कनुहुनेछ

        कमेन्टहरु