अदालत

    बी एण्ड सी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन सर्वोच्चको आदेश

    नवलपुर टुडे
    २०८१ जेष्ठ २४ | मध्यान्ह ०८:०२ बजे

      काठमाडौँ । सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईंले निर्माण गरेको बीएण्डसी मेडिकल कलेजलाई १५ दिनभित्र सम्बन्धन दिन आदेश दिएको छ।

      गत चैत १२ गते न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश दिएको थियो। सार्वजनिक भएको उक्त आदेशको पूर्णपाठमा १५ दिनभित्र बीएण्डसीलाई सम्बन्धन दिन भनिएको छ।

      झापाको प्रस्तावित बीएण्डसी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्यापन गराउन आशयपत्र दिएर पनि सम्बन्धन नदिएको भन्दै प्रसाईले २०७७ असार २१ मा काठमाडौँ विश्वविद्यालय र चिकित्सा शिक्षा आयोग विरुद्ध रिट निवेदन दर्ता गरेका थिए। त्यसपछि प्रसाईंले २०७७ असोज ३० मा चिकित्सा शिक्षा आयोग र काठमाडौँ विश्वविद्यालयविरुद्ध फेरि अर्को रिट निवेदन हालेका थिए।

      त्यस्तै, रिट निवेदनको प्रतिवादमा शशिविक्रम कार्कीले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने माग गर्दै २०७८ भदौमा रिट हालेका थिए। ती सबै रिटको एकमुष्ट सुनुवाइ गरेर सर्वोच्चले आदेश दिएको हो।

      सर्वोच्चको आदेशमा भनिएको छ, ‘…अतः यसै निवेदन साथ लगाउमा रहेको ०७६-WO-१०७३ को रिट निवेदनमा लिइएका आधार प्रमाण एवं भएको विवेचनासमेतका कारणबाट उक्त राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को नियम ७ को उपनियम (१), (३) र (४) निवेदकका हकमा आकर्षित नहुने हुँदा निवेदक कलेजलाई १५ (पन्ध्र) दिनभित्र यसै शैक्षिक शत्रदेखि एम.वि.वि.एस.को विद्यार्थी भर्ना तथा कक्षा सञ्चालन गर्न पाउने गरी सम्बन्धन प्रदान गर्नु गराउनु भनी प्रत्यर्थीहरु काठमाडौं विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोग समेतका प्रत्यर्थीहरुका नाममा परमादेशको आदेश जारी हुने ठहर्छ।’

      सर्वोच्चको आदेशपछि व्यवसायी प्रसाईंले देशमा न्याय नमरेको प्रतिक्रिया दिएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्,’यो देशमा न्याय मरेको छैन भन्ने प्रमाण आज हामीले पाएको बी एण्ड सी मेडिकल कलेजको सम्बन्धनको पूर्णपाठले स्पष्ट पारेको छ। यस कलेजलाई लिएर १३ वर्षदेखिको पीडा र छटपटीको अन्त्य गर्ने गरी आएको श्री सर्वोच्च अदालतको फैसला र न्याय दिनुहुने श्रीमान् माननीय न्यायाधिशद्वय डा. कुमार चुडाल र शारंगा सुवेदीलाई हृदयदेखि हार्दिक आभार एवं कृतज्ञता प्रकट गर्दछु। साथै यो न्याय बी एण्ड सी मेडिकल कलेजले मात्र नभएर मेची अञ्चलबासीले पाएको न्याय हो।’

      Durga 1Durga 2

        कमेन्टहरु