हावाहुरीले चितवनको केरा खेतीमा करोडौंको क्षति


चितवन, जेठ २० । हावाहुरीले चितवनको केरा खेतीमा करोडौँको क्षति भएको छ । शुक्रबार र शनिबार आएको हावाहुरीले चितवनको रत्ननगर खैरहनी र कालिका नगर पालिकाको विभिन्न क्षेत्रको केरा खेतीमा क्षति पुगेको किसानहरूले बताएका छन् ।
हावाहुरीले चितवनको करिब २ हजार ५ सय बिगाहमा लगाएको केरा क्षति भएको चितवन केरा उत्पादक संघका अध्यक्ष माधव प्रसाद घिमिरेले बताए । हावाहुरीले चितवनका किसानहरूको करीब १२ करोड बराबरको केरा क्षति भएको उनले बताए । चितवनमा हावाहुरीले हालसम्म कै ठुलो केरा खेतीमा क्षति भएको किसानहरूले बताएका छन् ।
जेठ महिनामा यसरी हावाहुरी आउला र क्षति होला भनेर कल्पना समेत नगरेको हावाहुरीले मुखमा आएको बालीमा क्षति भएपछि किसानहरू चिन्तित भएका छन् । हावाहुरीले ११ बिगाह जग्गामा लगाएको केरा सखाप भएको चितवन खैरहनी नगरपालिका ६ तुलसीपुरका किसान पुष्क सिंहले बताए ।
हावाहुरीले टिपेर बेच्ने बेला भएको केरा पूर्ण रुपमा क्षति हुँदा किसानहरू निरास भएका छन् । चितवनमा करिब ३ हजार ५ सय बिगाहमा केरा खेती भए पनि १ हजार ५ सय बिगाहको केरामा मात्र बिमा गरेका छन् । केरा खेतीमा बिमा गरिए पनि सरकारले समयमा नै बिमित रकम बिमा कम्पनीलाई नबुझाउँदा बिमाको रकम पाउन पनि ढिला हुने गरेको किसानहरू बताउँछन् ।
गत वर्ष बिमा कम्पनीमा दिनुपर्ने ४ करोडमध्ये २ करोड रुपैयाँ मात्र किसानले पाएको र २ करोड अझ बाँकी रहेको छ । किसानहरूले प्रति बिगाहबाट करिब १० लाखको हाराहारीमा केरा बिक्री गर्ने गरेका छन् ।
हावाहुरीले केरा खेतीमा ठूलो क्षति भएपछि किसानलाई क्षति पूर्तिका लागि पहल गर्ने उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले बताए । हावाहुरीले ठुलो नोक्सान व्यहोर्न परेको किसानलाई बारीमा ढलेको केराको बोट कसरी हटाउने भन्ने अर्को चिन्तामा परेको छ ।





