देश

    मेरो नागरिकताबारे दुष्प्रचार गर्ने व्यक्ति र समूहविरुद्ध कानुनी उपचार खोज्छु : अध्यक्ष सिरोहिया

    नवलपुर टुडे
    २०८१ जेष्ठ १७ | बिहान ०६:०२ बजे

      काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले प्रहरी प्रशासनले आधारभूत अनुसन्धानबिनै पक्राउ गरी ९ दिनसम्म हिरासतमा राख्ने योजनामा संलग्न तथा आफ्नो नागरिकताबारे दुष्प्रचार गर्ने  व्यक्ति र समूहविरुद्ध कानुनी उपचार खोज्ने भएका छन् ।

      सहकारी ठगी लगायत विषयमा श्रृंखलाबद्ध शोधपूर्ण समाचार प्रकाशित गरेको प्रतिशोधमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा पक्राउ परेका अध्यक्ष सिरोहिया ९ दिनपछि बुधबार रिहा भएका हुन् । त्यसपछि उनले प्रेस विज्ञप्ति जारी गर्दै कानुनी उपचारको बाटोमा जाने उल्लेख गरेका हुन् ।

      उनले आफूलाई गरेको गिरफ्तारी कान्तिपुरको पत्रकारितालाई दुर्बल बनाउने र अरू सञ्चारमाध्यमलाई पनि तर्साउने दुष्प्रयासले यो हरकत भएको थियो भन्नेमा अब कुनै शंका नरहेको उल्लेख गरेका छन् ।

      ‘प्रहरी प्रशासनले आधारभूत अनुसन्धान पनि नगरी मलाई पक्राउ गरी ९ दिनसम्म हिरासतमा राखिएकामा यो योजनामा संलग्न सबैलाई जवाफदेही बनाउन कानुनी उपचारको बाटो खोज्ने जानकारी गराउन चाहन्छु’ अध्यक्ष सिरोहियाको विज्ञप्तिमा छ,’ त्यस्तै म गैरनेपाली रहेको, मसँग दुई/तीन थरी नागरिकता रहेको र मेरो नागरिकतामा हस्ताक्षर र मितिसमेत नरहेको जस्ता हल्ला फैलाउनेहरूलाई आफ्नो दाबी प्रमाणित गर्न सार्वजनिक चुनौती दिन चाहन्छु । तर, आफ्नो दाबी प्रमाणित गर्न नसक्ने व्यक्ति तथा समूहविरुद्ध कानुनी उपचार खोज्ने अधिकार पनि मसँग सुरक्षित राखेको जानकारी गराउन चाहन्छु ।’

      सुशासन र लोकतन्त्रको पक्षमा तथा बेथितिकाविरुद्ध विगत ३१ वर्षदेखि निर्भीक पत्रकारिता गर्दै आएको कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई नागरिकता कसुरको आधारहीन आरोपमा पक्राउ गरी विगत ९ दिनदेखि थुनामा राखिएकामा बुधबार हाजिरी जमानीमा रिहा गरिएको हो ।

      जिल्ला सरकारी वकिलको कार्यालयसमेतको सहमतिमा जिल्ला प्रहरी कार्यालय धनुषाले फौजदारी कार्यविधि संहिताको दफा १५ (१) अनुसार ‘थप अनुसन्धानका लागि थुनामा राखिरहन नपर्ने’ भन्दै रिहा गरेको हो ।

      ‘मलाई जसरी पनि पक्राउ गर्ने, कान्तिपुरको पत्रकारितालाई दुर्बल बनाउने र अरू सञ्चारमाध्यमलाई पनि तर्साउने दुष्प्रयासले यो हरकत भएको थियो भन्नेमा अब कुनै शंका रहेन’ अध्यक्ष सिरोहियाको विज्ञप्तिमा छ ।

      उनले फेरि पनि यो हरकतप्रति बिनाउत्तेजना, बिनाप्रतिशोध र बिनासम्झौता कान्तिपुरले आफ्नो पेसागत धर्म अविचलित रूपमा पूरा गर्नेछ प्रतिबद्धता जनाएका छन् । ‘निर्भीक पत्रकारिता गर्दा आइलाग्ने कुनै पनि आक्रमणको डटेर सामना गर्न तयार रहेको पनि स्मरण गराउन चाहन्छु’ उनले भनेका छन् ।

      आफूमाथि लागेको नागरिकतासम्बन्धी आरोप, पक्राउ र त्यसपछि प्रहरी र प्रशासनको कार्यशैलीबारे पनि अध्यक्ष सिरोहियाले उल्लेख गरेका छन् ।

      ‘बजारमा अनेकथरी हल्ला गरिए पनि मविरुद्ध मूलतः दुई आरोप लगाइएका थिए । अरू कोही व्यक्तिको नागरिकता र मेरो नागरिकताको नम्बर मिलेको विषयमा जिल्ला प्रशासन कार्यालयको आफ्नै संयन्त्रभित्र अध्ययन गर्नुपर्नेमा सेवाग्राही नागरिकलाई पक्राउ गर्नु आफैंमा गैरजिम्मेवार हरकत थियो भन्ने प्रस्ट छ’, उनले भनेका छन्, ‘अझ, नागरिकतामा नम्बर मिलेको विषय प्रशासनिक त्रुटी भएकाले नागरिकमाथि कारबाही गर्न नपर्ने भनेर जिल्ला प्रशासन कार्यालयले दिएको लिखित रायलाई समेत दबाएर प्रहरीबाट मलाई पक्राउ गरिएको थियो । ‘

      नागरिकताको प्रतिलिपिमा हस्ताक्षरमा शंका गरिएकामा तत्कालीन प्रशासकीय अधिकृतले अरू सरकारी दस्तावेजमा गरेको हस्ताक्षरसँग भिडाएको भए त्यो प्रश्न तत्कालै निरूपण हुने थियो । तर अध्यक्ष सिरोहियामाथि नागरिकतामा अक्षर आफैं थपेको भनेर गम्भीर आरोप लगाइएको थियो ।

      ‘हस्ताक्षर कसको हो भन्ने प्रश्नको जवाफ खोज्न नागरिकता जारी गर्ने अधिकारीलाई बोलाएर सोधपुछ गरिएको भए यो प्रश्न तुरुन्तै हल हुने थियो । तर, सरकारी कार्यालयका अभिलेख हेर्न र अधिकारीसँग सोधपुछ गर्नुको सट्टा मलाई किन गरियो भन्ने प्रश्नको उत्तर सचेत नागरिकले पाइसकेका छन्’ अध्यक्ष सिरोहियाको विज्ञप्तिमा छ ।

      पक्राउ गरिएपछि पनि सरकारी कागजपत्र भिडाउन, सम्बन्धित अधिकारीलाई बोलाएर सोधपुछ गर्न तथा फरेन्सिक परीक्षण गर्न आफ्ना वकिलहरूले पटकपटक आग्रह गर्दा पनि आलटाल भएको विषयमा उनले सार्वजनिक अभिलेखमा राख्न चाहेका छन् । आरोपी पक्षले अनुसन्धानका लागि ताकेता गर्ने र प्रहरी प्रशासनले ढिलाइ गर्ने यस्तो प्रवृत्ति वास्तवमा कानुनी शासनका लागि चुनौती हो भन्ने अध्यक्ष सिरोहियाको ठहर छ ।

      ‘पटकपटकको ताकेतापछि सम्बन्धित अधिकारीलाई बोलाएर सोधपुछ गर्दा उहाँले हस्ताक्षर आफ्नो हो भनेर बयान कागज गरिदिनुभएपछि मेराविरुद्धको प्रपञ्च समाप्त भएको छ र अहिले हाजिरी जमानी भन्दै रिहा गरिएको छ,’ उनले भनेका छन्,’ मलाई अहिले हाजिरी जमानीमा छाडिएको छ, थप अनुसन्धानमा सहयोग गर्न म सम्पूर्ण रूपमा तयार छु ।’

      राज्यशक्तिको चरम दुरुपयोगबीच भएको भयानक षड्यन्त्रबीच पनि नेपाली प्रेस जगतले देखाएको ऐतिहासिक ऐक्यबद्धताका सामु आफू नतमस्तक रहेको अध्यक्ष सिरोहियाको भनाई छ । उनले नागरिक समाज, कूटनीतिक नियोग, प्रेस र मानवअधिकारसम्बन्धी राष्ट्रिय/अन्तर्राष्ट्रिय संगठन, कानुन व्यवसायी अधिवक्ता तथा वरिष्ठ अधिवक्ताहरूले न्यायको पक्षमा उठाएको आवाजका लागि आभार व्यक्त गरेका छन् ।

      ‘सम्पूर्ण दुष्प्रचारबीच पनि कान्तिपुरमाथि विश्वास व्यक्त गर्ने विशेषतः जनकपुरका बासिन्दा तथा देश–विदेशका नेपाली दाजुभाइप्रति हार्दिक धन्यवाद’ अध्यक्ष सिरोहियाले भनेका छन् । ईकान्तिपुरबाट साभार

      अध्यक्ष सिरोहियाद्वारा जारी प्रेस विज्ञप्ति kailash sirohiya release final101 2952024072805

      kailash sirohiya release final102 2952024072800

        कमेन्टहरु