सिरोहिया हाजिरी जमानीमा रिहा


धनुषा । सहकारी ठगी लगायत विषयमा श्रृंखलाबद्ध शोधपूर्ण समाचार प्रकाशित गरेको प्रतिशोधमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय, धनुषाको स्वीकृति र जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई हिरासतबाट मुक्त गरेको हो । अध्यक्ष सिरोहियाका वकिल रमन कर्णले सरकारी वकिल कार्यालय, धनुषाको स्वीकृतिमा प्रहरीले रिहा गरेको जानकारी दिए ।
‘उहाँलाई थप अनुसन्धानका लागि हिरासतमा राखिरहन नपर्ने भनी जिल्ला सरकारी वकिलको कार्यालयले गरेको निर्णयका आधारमा हाजिरी जमानीमा छोडिदिएको छ । प्रहरीले रिहा गरिसकेको जानकारी हामीलाई दिएको छ । सरकारी वकिल कार्यालय, धनुषाको स्वीकृति सहितको पत्रका आधारमा धनुषा प्रहरीले ललितपुर प्रहरीलाई पत्र पठाएपछि हिरासतबाट छोडिएको हो,’ कर्णले भने ।
अध्यक्ष सिरोहियालाई काठमाडौं थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाट प्रहरीले पक्राउ गरी नागरिकतासम्बन्धमा अनुसन्धान गर्न भन्दै स्थलमार्गबाट धनुषा ल्याएको थियो । अदालतबाट तीन पटकमा ९ दिन म्याद थपेर हिरासतमा राखिएका अध्यक्ष सिरोहियालाई तथ्य, प्रमाण र आरोपको गाम्भीर्यता हेरेर सरकारी वकिलको कार्यालयले आफन्तको जमानीमा छोड्ने निर्णय गरेको हो ।
दोस्रो पटक म्याद थपपछि सिरोहियालाई उपचारका लागि भन्दै मंगलबार हेलिकोप्टरबाट ललितपुरस्थित मेडिसिटी अस्पतालमा ल्याइएको थियो ।





