बजेटले भनेअनुसार काम हुन सक्यो भने युवा जमातलाई देशमै रोक्न सक्छ: विनोद चौधरी


काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले आइटीको क्षेत्रलाई बजेटले भनेअनुसार काम भएमा ठूलो रोजगारीको सम्भावना खुल्ने बताएका छन् । अर्थमन्त्री वर्षमान पुनले संसदमा पेस गरेको बजेटको प्रतिक्रिया दिँदै सांसद चौधरीले आगामी वर्षको बजेटले आईटी क्षेत्रमार्फत नेपालबाट बाहिरिन लागेका ठूलो युवा जमातलाई रोक्न सने बताएका हुन् ।
“आईटीको क्षेत्रलाई यो बजेटले भनेअनुसार काम हुन सक्यो भने नेपालबाट पलायन हुन लागेका युवाका लागि नयाँ रोजगारीको ढोका खुल्छ,” उनले भने, “नयाँ आर्थिक गतिविधिमा संलग्न हुँने ढोका खुल्छ । म आशा गर्छु कि यसले साँच्चिकै भने अनुसारको आईटी र यो बिजनेश प्रोसेस इन्जिनियरिङ (बीपीओ) लगायतका गतिविधि दिन सकोस् । जुन कुरा यसले निर्दिष्ट गरेको छ ।”
सय वार्डका नर्सिङ अस्पताल बन्ने कुरा पनि सकारात्मक रहेको उनको भनाइ छ । बजेटले निजी क्षेत्रलाई सँगसँगै लिएर जाने भन्ने कुरा पनि सकारात्मक रहेको बताउँदै राजस्व उठ्नेमा भने अझै आशंका रहेको बताए ।





