देश

    संखुवासभामा चट्याङ लागेर मरे ७२ भेडा

    रासस
    २०८१ जेष्ठ ७ | मध्यान्ह ०२:०२ बजे
    फाइल तस्बिर

      किमाथांका, जेठ ७ । संखुवासभाको सभापोखरी गाउँपालिका–५ फाकुवामा चट्याङ लागेर ७२ भेडा मरेका छन् ।

      जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले गत शनिबार  रातका समयमा परेको चट्याङ लागेर एकै गोठका ७२ वटा भेडा मरेको जानकारी दिए ।

      सभापोखरी गाउँपालिका उपाध्यक्ष लक्ष्मी चापागाईंले सभापोखरी–५ का  सोमबहादुर लिम्बूको चारसय भेडामध्ये ७२ वटा भेडा मरेको जानकारी दिए । रातको समयमा हुरीसँगै असिना परेपछि रुखको फेदमा बसेका ती भेडा एकैठाउँ मरेको भेटिएको उपाध्यक्ष चापागार्इंले बताए ।

      सभापोखरी गाउँपालिकाको माथिल्लो भेग नेपालको ताप्लेजुङ र चीनसँग जोडिएको छ । घटनास्थल सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबीसे बजारदेखि एक दिनको पैदल दूरीमा पर्छ ।

      सभापोखरी गाउँपालिकाको माथिल्लो भेगमा एकल र संयुक्त ६० भन्दाबढी भेडीगोठहरु छन् । क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु