विजयनगरमा ‘नेपाल एकिकृत विकास परियाेजना-२’ काे परिचयात्मक कार्यक्रम सम्पन्न


कपिलवस्तु, जेठ । कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा नेपाल एकिकृत विकास परियाेजना-२ काे कार्यक्रमकाे बारेमा परिचयात्मक कार्यक्रम सम्पन्न भएकाे छ । सेचेन करुणा संस्थाले विजयनगर गाउँपालिकामा लागू गरेकाे नेपाल एकीकृत विकास परियोजना-२ काे कार्यक्रमकाे बारेमा परिचयात्मक कार्यक्रम गरेकाे जनाएको छ । सेचेन करुणाले शिक्षा, स्वास्थ्य, खानेपानी, आर्थिक, सरसफाई, समाजिक सुधार, खाद्य सुरक्षा सम्बन्धी सञ्चालन गर्ने याेजना रहेकाे सेचेन करुणाकि कार्यक्रम प्रमुख तथा कार्यकारी निर्देशक सुनिता शर्माले जानकारी दिइन् ।
उक्त परियाेजनाले प्रारम्भिक बाल शिक्षा र आधारभूत प्रारम्भिक कक्षाको गुणस्तर सुधार गर्ने, लक्षित जनसंख्याहरुको स्वास्थ्य अवस्थामा सुधार गर्न, लक्षित जनसंख्यामा सुरक्षित खानेपानीको आपूर्ति गरेर स्वास्थ्य र जीवन स्तरमा सुधार गर्न, समुदायको समाजिक र आर्थिक स्थितिमा सुधार गर्ने, लक्षित समुदायहरुमा खाद्य सुरक्षाको अवस्थामा स्थितिमा सुधार गर्ने, जैविक खेतीतर्फ आकर्षण बढाउने उद्देश्यले नेपाल एकीकृत विकास परियाेजना-२ काे मुख्य उद्देश्य रहेकाे उनले बताइन् ।

गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले यस परियाेजनाले सामाजिक विकासमा आमूल परिवर्तन हुने बताएका छन् । शिक्षा, स्वास्थ्य, सरसफाई लगायतकाे कार्यमा उल्लेखनीय भूमिका खेल्ने उनकाे भनाई छ । आधारभूतका कुरादेखि लिएर आत्मनिर्भर हुने खालकाे राेजगार दिँदै व्यावसायिकतामा समेत जाेड दिने अध्यक्ष थापाले बताए ।
गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शाेभाराम रिजालले गाउँपालिकाले यस कार्यक्रमलाई सहकार्य गर्दै जाने बताए । संघसंस्थाले सामाजिक विकास र परिवर्तनमा निकै महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै याेजनाबद्ध रुपमा कार्यक्रम सफल पार्नुपर्नेमा उनले जाेड दिए ।
यस्तै कार्यक्रममा ७ का वडा अध्यक्ष दिनेश कुमार चाैधरीले शिक्षालाई निरन्तरता, स्वराेजगार र स्थानीय उत्पादनलाई बजारीकरणका लागि विशेष याेजना बनाएर अगाडी बढ्न सुझाव दिए । यसले उनीहरुकाे जीवनस्तरमा सुधार ल्याई आर्थिक रुपमा अब्बल हुँदै जाने वडा अध्यक्ष चाैधरीकाे भनाई छ । सेचेन करुणा संस्थासँग १० करोड ३४ लाख ७६ हजार ५ सय ५१ रुपैयाँकाे याेजना सम्झाैता गरिएको छ । त्यस याेेजनामा गाउँपालिकाकाे २० प्रतिशत रुपैयाँ थप हुने गरि १३ कराेड बराबरकाे पालिकाकाे साझेदारीमा सेचेन करुणासँग याेजना सम्झौता गरिएको छ ।
याे परियोजनाले २ वर्ष ९ महिना विजयनगर गाउँपालिकाकाे समग्र विकासमा काम गर्ने जनाइएकाे छ । याे परियाेजना कार्यक्रम २०२४ अप्रिल १ तारिखबाट सञ्चालन हुनेछ भने २०२६ डिसेम्बर ३१ मा सम्पन्न हुने सम्झाैतमा उल्लेख गरिएको छ ।





