देश

    आज पश्चिम राप्ती, तिनाउ र बबईमा उच्च जोखिम : बाढी पूर्वानुमान महाशाखा

    जगत ठाडा मगर
    २०७८ असार ३ | बिहान ०८:०३ बजे

      असिम कामु मगर
      काठमाडौं । पानी पर्ने क्रम जारी रहेकाले आज पनि केही नदीहरुमा आकस्मिक बाढी आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार प्रदेश १, सुदूरपश्चिम प्रदेश, बागमती र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

      विभागको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनअनुसार बिहीबार पश्चिम राप्ती, तिनाउ र बबईमा बहाव बढेर उच्च जोखिम हुन सक्ने छ ।
      नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा पनि बहाव बढ्ने छ । तर यसबाट मध्यम जोखिमको सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

      महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेश क्षेत्रमा पनि जोखिम उच्च छ भने कन्काई, कमला, बागमती, कोशी र यसका सहायक नदीमा बहाव सामान्य रहने छ । तर यी नदीबाट पनि मध्यम जोखिमको सम्भावना कायमै रहेको महाशाखाले जनाएको छ ।

      प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको मध्यपहाडी, तराई र चुरेको भूभाग भई बग्ने साना नदीमा बहाव बढ्दो क्रममा हुने छ । केहीमा आकस्मिक बाढी आउन सक्ने पूर्वानुमान महाशाखाले गरेको छ ।

      बिहीबारको तुलनामा शुक्रबार कम जोखिम रहने अनुमान गरिएको छ ।

        कमेन्टहरु