देश

    इलाम–२ मा कांग्रेसको सुरुवाती अग्रता

    नवलपुर टुडे
    २०८१ बैशाख १६ | मध्यान्ह ०२:०१ बजे

      इलाम । इलाम २ को शनिबार सम्पन्न निर्वाचनको मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवारले सुरुवाती अग्रता बनाएका छन् । फाकफोकथुम–१ नम्बर वडाको मत गन्दा कांग्रेसका उम्मेदवार डम्बर खड्काले ६५७ मतका साथ अग्रता बनाएका हुन् ।

      क्षेत्र नम्बर २ उपनिर्वाचनको मतगणना जारी छ । १५४१ मत रहेकाे फाकफोकथुममा  मतगणना हुँदा कांग्रेस अघिअघि लागेको छ । कांग्रेस उमेदवार डम्बर खड्काले ६५७ मत प्राप्त गरेका छन् ।

      दोस्रो नम्बरमा एमालेले ५३४ मत प्राप्त गरेको छ । उसका उमेदवार सुहाङ नेम्वाङ  छन् । इलाम क्षेत्र नम्बर २ मा केही समयअघिबाट मतगणना सुरू भएको हो । यहाँ १९ उमेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

      यस्तै रास्वपा उमेदवार मिलन लिम्बुले ११५ मत फ्याउँदा स्वतन्त्र उमेवार डकेन्द्र थेगिमले मुढा चिह्नमा १८७ मत ल्याएका छन् । प्रतिनिधिसभा सदस्यका लागि इलाममा बैशाख १५ गते उपनिर्वाचन भएको हो । संविधानसभा अध्यक्ष समेत रहेका सुवासचन्द्र नेम्वाङको निधन भएपश्चात् यहाँ उपनिर्वाचन गरिएको हो ।

      मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार नगरपालिका वडा नम्बर ७ मा रहेको गौतमबुद्ध समभागृहमा मतगणना भइरहेको छ ।

      एक लाख १५ हजार ८८९ मतदाता रहेको इलाम-२ मा ६९ हजार ४२१ मतदाताले मतदान गरेका छन् । इलाम क्षेत्र नम्बर २ मा इलाम नगरपालिका, देउमाई नगरपालिका, माङ्सेबुङ गाउँपालिका, फाकफोकथुम गाउँपालिका, चुलाचुली गाउँपालिका र माई नगरपालिकाको ६, ७, ८ नम्बर वडा पर्छन् ।

        कमेन्टहरु