इलाम–२ र बझाङ–१ ‘क’मा आज उपनिर्वाचन


काठमाडौं, वैशाख १५ । इलाम– २ र बझाङ १ ‘क’ को उपनिर्वाचन अन्तर्गत आज मतदान हुँदै छ । निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।
इलाम-२ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद सुवासचन्द्र नेम्वाङको निधन भएकाले त्यहाँ उपचुनाव हुन लागेको हो । त्यस्तै बझाङको प्रदेश सभा १(१) मा पनि प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
इलाम-२ मा १२ राजनीतिक दलबाट १२ जना र ८ जना स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयन पत्र दर्ता भएको थियो । स्वतन्त्र उम्मेदवार केशव कुमार चापागाईंले उम्मेदवारी फिर्ता लिएपछि बाँकी १९ जनाको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिएको छ । इलाम – २ मा एक लाख १५ हजार ८८९ जना मतदाता छन् ।
त्यस्तै बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयन पत्र दर्ता भएको थियो । नेपाली जनता दलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिएपछि बाँकी ११ जनाको अन्तिम नामावली प्रकाशन भई निर्वाचन चिह्न समेत प्रदान गरिएको छ । बझाङको १ (१) मा ६१ हजार ७४८ जना छन् ।
निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि निर्वाचन अनुगमन समिति, अनुगमन अधिकृत, मतदान कार्यमा खटिएका कर्मचारी एवम् सुरक्षाकर्मीबाट समेत सुक्ष्म अनुगमनको कार्य भइरहेको निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले जानकारी दिएका छन् । उपनिर्वाचनमा करिब एक हजार सात सय कर्मचारी खटाएको छ ।





