समाज

    चेपाङ समुदायका लागि इच्छाकामनामा २२ घर निर्माण

    रासस
    २०८१ बैशाख १४ | बिहान ११:०१ बजे
      चेपाङ, वैशाख १४ । चेपाङ आवास कार्यक्रमअन्तर्गत इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । संघीय सरकारको एक करोड ५० लाख अनुदानबाट ती घर निर्माण गरिएका हुन् ।

      पालिकाका सात वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर घर निर्माण गरिएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए । अब एक महिनाभित्रमा सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिनेछ ।

      ‘घडेरी सम्याउने र जग खनेर ढुङ्गा हाल्ने काम सम्बन्धित लाभग्राहीको हो,’ अध्यक्ष गुरुङले भने, ‘अरु सबै गाउँपालिकाले निर्माण गरिदिएको छ ।’ उनले गाउँपालिकाले खरको छाना भएका र आर्थिक अवस्था कमजोर भएका चेपाङ परिवारलाई टिनको छानाको व्यवस्था गरेको जानकारी दिए ।

      पालिकाको वडा नं १ मा पाँच, वडा नं २ मा दुई, वडा नं ३ मा दुई, वडा नं ४ मा दुई, वडा नं ५ मा दुई, वडा नं ६ मा तीन र वडा नं ७ मा छवटा घर निर्माण गरिएको छ ।

      इच्छाकामना गाउँपालिका–१ कोलभन्ज्याङका अरसल चेपाङ भूकम्पले पुरानो घर भत्किएपछि छाप्रामा बस्दै आएको बताए । उनले बर्खामा पानी चुहिने र हिउँदमा हुरीबतास र आगलागीको डर अब अन्त्य भएको बताए । ‘गाउँपालिकाले घर बनाइदिएपछि निकै खुसी छौँ, छजनाको परिवार एउटै कोठामा बस्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ,’ उनले भने ।

      इच्छाकामना गाउँपालिकामा दुई हजार पाँच सय चेपाङ परिवारको बसोबास छ ।

        कमेन्टहरु