देश

    रौतहटमा बोक्सीको आरोपमा एक असाह्य महिलामाथि निर्घात कुटपिट

    जगत ठाडा मगर
    २०७८ असार १ | मध्यान्ह ०९:०३ बजे

      असिम कामु मगर
      रौतहट । रौतहटमा एक महिलामाथि बोक्सीको आरोपमा निर्घात कुटपिट भएको छ। कुटपिटबाट गम्भीर घाइते भएकी महिलाको चन्द्रपुरको सिभिल अस्पतालमा उपचार भइरहेको छ । महिलाको शरीरमा विभिन्न ठाउँमा घाउचोट लागेको र करिब तीन सय टाँका लागाएको छ । महिलाको अवस्था अहिले पनि गम्भीर रहेको अस्पतालले जनाएको छ।

      रौतहटको माधव नारायण नगरपालिका ५ मिठुअवा गाउँकी ६५ वर्षीया श्रीपतीदेवीलाई छिमेकी सन्दीप महरासहितले आक्रमण गरेको हो । आक्रमणबाट महिलाको टाउको, हात, कान र शरीरका अन्य भागमा चोट लागेको छ ।

      आक्रमणबाट महिलाको टाउको र अनुहार पूरै सुन्निएका छन् भने आँखा सुन्निएर बन्द भएका छन्।
      गम्भीर घाइते भएकी महिलाको श्रीमानको दश वर्ष पहिले मृत्यु भइसकेको छ भने सशस्त्र द्वन्द्वको समयमा छोराको पनि मृत्यु भएको थियो।

      छोराको मृत्यु भएपछि सन्दीपको परिवारले महिलामाथि बोक्सीको आरोप लगाउँदै आएको थियो।
      गम्भीर घाइते महिलाको उपचार चन्द्रपुरस्थित सिभिल अस्पतालमा भइरहेको छ । विपन्न परिवारकी महिलाको उपचारमा आर्थिक समस्या भइरहेको छ ।

      अहिले स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका प्रमुख डा. हरिशंकर मण्डलले जानकारी गराएका छन् तर महिलाको स्वास्थ्य अझ खराब भएमा बाहिर लैजानुपर्ने अवस्था रहेको छ ।

      घटनाका मुख्य आरोपी सन्दीप महरा फरार रहेको र आरोपितको खोजी भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि भरत श्रेष्ठले ज्यान मार्ने उद्योग गरेको भनी जाहेरी परेको र आरोपित महराको खोजी भइरहेको जानकारी गराएका छन्।

        कमेन्टहरु