देश

    राष्ट्रपति पौडेलद्वारा नयाँ वर्षको शुभकामना

    नवलपुर टुडे
    २०८१ बैशाख १ | बिहान ०८:०१ बजे

      काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उद्यमशीलता प्रवद्र्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नमा केन्द्रित हुनुपर्ने सुझाव दिएका छन्।

      नयाँ वर्ष २०८१ सालको अवसरमा राष्ट्रपति पौडेलले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना दिँदै देशको अर्थतन्त्रमा पर्न सक्ने प्रतिकूल प्रभावलाई कम गर्न आन्तरिक स्रोतलाई सदुपयोग गर्न सकिने बताए।

      ‘नयाँ वर्ष आशा, अपेक्षा र उमङ्गको उत्सव पनि हो। हामीले यस अघि थाती राखेका योजनालाई कार्यान्वयनमा ल्याई देश निर्माणका गतिविधिमा जुट्न म सबैलाई अनुरोध गर्दछु,’ शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन, ‘मुलुकको समृद्धि र समुन्नतिका लागि स्वदेशी उत्पादनलाई बढावा दिनाका साथै उद्यमशीलता प्रवर्द्धन गरी राष्ट्रिय पूँजीको विकासद्वारा स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नेतर्फ अबका हाम्रा प्रयास केन्द्रित हुनुपर्छ।’

      राष्ट्रपति पौडेलले देश निर्माणमा एकजुट हुन आग्रह गरेका छन्। विदेशिने युवा शक्तिलाई स्वदेशकै विकासमा आबद्ध गर्न रोजगारी र अवसरको सृजना गर्ने नीति कार्यान्वयन गर्नुपर्ने उहाँले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

      उनले भनेका छन्, ‘जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने शिक्षा‚ स्वास्थ्य, कृषि र वातावरण संरक्षणलाई उच्च प्राथमिकतामा राखेर सोही अनुसारका नीतिहरू अवलम्बन गर्दै दिगो विकासको लक्ष्य हासिल गर्नेतर्फ अग्रसर हुन म संघीय, प्रदेश र स्थानीय सरकारका साथै सम्बद्ध सबैमा आह्वान गर्दछु।’

      यस्तै, राष्ट्रपति पौडेलले देशमा सम्पन्नता र सभ्यताको निर्माणको शुभकामना दिनुभएको छ।

      ‘द्वन्द्व मच्चाउने र बाहुबलीयतातिर धकेल्ने होइन, निमुखालाई न्याय र विपन्नलाई आय दिलाउने तथा नेपालीलाई नेपाल नै रमाइलो लाग्ने सम्पन्नता र सभ्यताको निर्माण गर्न सफलता मिलोस्। यसका लागि नव वर्ष २०८१ ले हामी सबैलाई प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु,’ राष्ट्रपति पौडेलको सन्देशमा उल्लेख छ।

      राष्ट्रपति पौडेलले विकाससहितको विज्ञान र प्रविधिसँगैको स्वच्छ–सफा पृथ्वी बनाउन आह्वान गरेका छन्। ‘नयाँ वर्षमा भूकम्प, बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिको सामना गर्न नपरोस् भन्ने पनि म कामना गर्दछु,’ शुभकामना सन्देशमा उल्लेख छ।

        कमेन्टहरु