डोल्पामा डढेलो निभाउन गएका ३ सैनिकको मृत्यु


डोल्पा । डोल्पाको सदरमुकाम दुनेबाट करिब ३ सय मिटरको दुरीमा लागेको आगो निभाउन गएका नेपाली सेनाका तीन सैनिकको जलेर मृत्यु भएको छ ।४ जना घाइते भएकामा एक जनाको जिल्ला अस्पताल र दुई जनाको काठमाडौंमा उपचारका क्रममा ज्यान गएको थियो। ज्यान गुमाउनेमा नेपाली सेनाका जम्दार केशव जर्घामगर तथा जवानहरू आशिष बुढा र हेमन्त रावतको मृत्यु भएको हो।
आगो लागिरहेको ठाउँदेखि करिब २ सय मिटर दुरीमा रहेको सदरमुकाम सुरक्षा गुल्मबाट खटिएका उनीहरू रुखमा लागिरहेको आगोको ट्र्यापमा परेका थिए। जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख हरिकृष्ण केसीले जलिरहेको रुख ढलेर तल पुगेपछि आगो सल्किएर अगाडि आउँदा सैनिकहरू ट्र्यापमा परेको बताए। ‘आगो नाघेर जान सक्ने अवस्था पनि भएन। त्यहाँ तल ५/६ सय मिटर अग्लो भिर थियो। अगाडि पहरा भएकाले चढ्ने अवस्था पनि रहेन’, डीएसपी केसीले भने।
पानी लैजान कठिन भएकाले सुरक्षाकर्मीले वरिपरिका स्याउलाले आगो निभाउन खोजिरहेका थिए । सेनाको ब्यारेकको ठिक पछाडि पट्टी रहेको डाँडामा डढेलो लागेको थियो । डाँडाको नजिकै रहेको ठुली भेरी-४ कै करिब एक सय ५० परिवारको बसोबास रहेको बस्तीमा आगो पुग्न सक्ने डरले सुरक्षाकर्मीले डढेलो नियन्त्रणमा ल्याउने प्रयास गरेका थिए । नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारी घटना भएको दिन गुल्मबाट १४ जना सैनिक आगो नियन्त्रणमा लागि गएको बताए। उनले घटना कसरी हुन गयो भन्नेबारे बुझ्ने काम भइरहेको पनि जानकारी दिए ।





