उपनिर्वाचन : उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने


काठमाडौँ, चैत २५ । आगामी बैशाख १५ गते हुने उपनिर्वाचन अन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने र ३ बजेपछि २६ गते बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यसूची रहेको छ ।
यस्तै २६ गते बेलुका उमेदवारको नामावली प्रकाशन गर्ने, २७ गते बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिइएको छ । २७ गते दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।
२०८१ वैशाख १५ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुने आयोगले जनाएको छ ।
शनिबार इलाम र बझाङ जिल्लाका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरुले मनोनयनपत्र दर्ता गराएका थिए । आयोगका अनुसार इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ र आठ स्वतन्त्र उम्मेदवार गरी कुल २० जनाको मनोनयनपत्र दर्ता भएको छ । मनोनयनपत्र दर्ता गर्ने २० जना सबै पुरुष छन् ।
बझाङ निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि १२ राजनीतिक दलबाट १२ जनाको मनोनयनपत्र दर्ता भएको आयोगले जनाएको छ । जसमध्ये एक महिला र ११ पुरुष छन् ।





