निर्वाचन

    उपनिर्वाचनका लागि उम्मेदवारले आज मनोनयन दर्ता गर्दै

    नवलपुर टुडे
    २०८० चैत्र २४ | बिहान ०७:१२ बजे

      काठमाडौँ, चैत २४ । आगामी वैशाख १५ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन पत्र दर्ता हुँदै छ । इलाम–२ र बझाङ १ (१) मा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दै छन् ।

      इलाम–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ १ (१) बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

      निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिने छ । आयोगले आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गर्नेछ । उम्मेदवारी दर्ता भएको भोलिपल्ट चैत २५ उम्मेदवारको विरोधमा उजुरी दिने तथा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ ।

      यस्तै, निर्वाचन कार्यक्रम अनुसार चैत २६ गते अपराह्न ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ ।

      तोकियो मतदान स्थल र मतदान केन्द्र
      निर्वाचन आयोगले उपनिर्वाचनका लागि इलाम–२ मा ७९ वटा मतदान स्थल र १४९ मतदान केन्द्र निर्धारण गरेको छ ।

      यस्तै, बझाङ प्रदेश १ मा आयोगले ७४ मतदान स्थल र ९३ मतदान केन्द्र तोकेको छ ।

        कमेन्टहरु