समाज

    पश्चिम नवलपरासीमा भोजपुरी भाषामा पनि नागरिक वडापत्र राखियो

    नवलपुर टुडे
    २०८० चैत्र १७ | बिहान ११:१२ बजे

      नवलपरासी, चैत १७ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) ले भोजपुरी भाषामा समेत नागरिक वडापत्र राख्ने कार्यको सुरुवात गरेको छ ।

      सार्वजनिक सेवा प्रदान गर्ने वा जनसम्पर्क कायम राख्ने प्रत्येक सरकारी कार्यालयले सबैले देख्ने ठाउँमा नागरिक वडापत्र राख्नु पर्ने सुशासन (व्यवस्थापन तथा संचालन) ऐन २०६४ को व्यवस्था अनुरुप कार्यालय परिसरमा नेपाली भाषामा नागरिक वडापत्र राखेर कार्यान्वयनमा ल्याइदै आइरहेकोमा अबदेखि भाषिक समस्याका कारण आमनागरिकले प्रहरी सेवाबाट वञ्चित वा थप झञ्झट व्यहोर्नु नपरोस् भन्ने हेतुले स्थानीय भाषामा पनि नागरिक वडापत्रको व्यवस्था गरिएको हो ।

      यसबाट आमनागरिकले प्रहरी कार्यालयबाट प्राप्त हुने सेवा, लाग्ने समय, सो सम्बन्धि प्रकृयाका साथै सम्बन्धित शाखा, जिम्मेवार अधिकारी तथा गुनासो सुन्ने अधिकारीका विषयमा बिस्तृत जानकारी प्राप्त गर्न सकिने जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) का सुचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।

      प्रहरी नायव उपरीक्षक बोहराका अनुसार भाषा र प्रकृयाको जानकारीका अभावमा तेस्रो पक्षको सहारा खोज्ने प्रवृत्तिलाई अन्त्य गरि नागरिक मैत्री सेवा प्रवाहमा अभिवृद्धि गर्ने उद्देश्यले सेवाग्राहीहरुको सहजता र सुविधाको लागि २ जना नागरिक सहजकर्ता समेत परिचालन गरिएको छ । साथै प्रहरी सेवामा सेवाग्राहीलाई कुनै शुल्क नलाग्ने र प्रहरी सेवाको लागि कुनै सहारा खोज्नु नपर्ने उनले बताए ।

        कमेन्टहरु