एक करोड लागतमा खानेपानी आयोजना निर्माण

रासस
२०८० चैत्र १० | बिहान ०८:१२ बजे

आयोजना निर्माण भएपछि एक सय ३६ घरका परिवारलाई एक घन्टा बढी समय लगाएर पानी ओसार्नुपर्ने बाध्यता हटेको छ। खिवाङकी रिना बुद्धुजाले आँगनको धारामा २४ सैँ घन्टा नियमित पानी आउन थालेपछि पानीको समस्या समाधान भएको बताए।
गोर्खा वेल्फेयर ट्रष्टको आर्थिक सहयोगमा निर्माण भएको खिवाङ खानेपानी तथा सरसफाइ आयोजना काम सुरु भएको ९१ दिनमा पू्रा भएको हो।
उपभोक्ता समितिका अध्यक्ष जयराम विकका अनुसार ट्रष्टको ७३ लाख बराबरको निर्माण सामग्री र प्राविधिक सहयोग तथा उपभोक्ताको ३१ लाख बराबरको श्रमदानमा खानेपानी आयोजना निर्माण भएको हो।
आयोजनाको दिगो सञ्चालन र पानीको मितव्ययी प्रयोग गर्न धारामा मिटर जडान गरिएको छ। ट्रष्टका कन्ट्रक्सन इञ्जिनियर लिला पुन शेरचनले यस वर्ष खिवाङ वडा नम्बर ३ को काभ्रे र वडा नम्बर ४ को छेम्दीमा पनि खानेपानी आयोजना निर्माण पूरा भएको जानकारी दिए।





