समाज

    उमेर पुगेपछि बिहे गर्ने जोडीलाई वडाले गर्‍यो सम्मान

    रासस
    २०८० फाल्गुन २७ | बिहान ०७:११ बजे

      डोटी, फागुन २७ । डोटीको जोरायल गाउँपालिका-६ ले विवाह गर्ने उमेर पुगेपछि विवाह गर्ने एक जोडीलाई सम्मान गरेको छ । वडाले गत जेठ ३१ गते २० वर्ष पुगेपछि विवाह गर्नेलाई सम्मान गर्ने निर्णयका आधारमा एक जोडीलाई सम्मान गरेको हो ।

      जोरायल गाउँपालिका-६ सित्तोलीकी २० वर्षीया युवतीले बैतडीको मेलौली नगरपालिका-३ कुजागाड घर भएका २६ वर्षीया कमला बोहराले विवाह गरेका थिए । वडाध्यक्ष गणेशबहादुर बोहराले नवविवाहित जोडीलाई टीका, खादा, मायाको चिनो र नगद प्रदान गरिएको जानकारी दिए ।

      ‘नवविवाहित दम्पत्तीको हामी माइती परेकाले गाडी भाडास्वरूप ४ चार हजार १२५ रूपैयाँ पनि दियौं,’ उनले भने ।

      दण्ड र सजायले मात्रै बालविवाह नरोकिने देखिएपछि सम्मान कार्यक्रमको सुरुवात गरिएको वडाले जनाएको छ । यसप्रकारको कार्यक्रमले बालविवाह रोक्नका लागि सहयोगी हुने वडाध्यक्ष बोहराले बताए ।

      ‘यो कार्यक्रम सुरु भएपछि अन्य दुई जोडीले उमेर पुगेपछि विवाह गर्नुभएको छ, उहाँहरूलाई केही समयमै सम्मान गर्नेछौं,’ उनले भने ।

      वडाको यस अभियानलाई यहाँ सक्रिय अन्य सङ्घसंस्थाले पनि साथ दिएका छन् । छाउपडी प्रथा, बालविवाह लगायतका क्षेत्रमा काम गर्दै आएको गैरसरकारी संस्था सिडिएफ नेपालले अभियानलाई साथ दिएको वडाध्यक्ष बोहराले बताए ।

      मुलुकी अपराध संहिता ऐन २०७४ मा २० वर्ष नपुगी गरे वा गराइएको विवाह स्वतः बदर हुने व्यवस्था छ ।

        कमेन्टहरु