ट्राफिक नियम सम्बन्धी सचेतना तथा विविध सामग्री वितरण


लालु चौधरी
कपिलवस्तु । कपिलवस्तुकाे विजयनगर गाउँपालिका-७ नम्बरकाे वडा कार्यालयले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, विद्यालयका प्रधानाध्यापक र अटाे रिक्सा चालकलाई विभिन्न सामग्री वितरण गरेकाे छ । वडाले प्राेत्साहनका लागि झाेला, माेबाइल, रेनकाेट र ज्याकेट वितरण गरेकाे वडा अध्यक्ष दिनेश कुमार चाैधरीले जानकारी दिए ।
उनले वडाभित्रका १२ जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकालाई माेबाइल, जनप्रतिनिधि, कर्मचारी, प्रधानाध्यापक गरि २५ जनालाई झाेला, ६ जना कर्मचारीलाई रेनकाेट प्रदान गरिएको बताए । यस्तै गाउँपालिकाभित्र रहेका ४० जना अटाे रिक्सा चालकलाई टल्किने ज्याकेट वडा कार्यालयबाट दिइएको चाैधरीले बताए ।
विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले प्रेरणाका लागि उक्त सामग्री वितरण गरिएको बताउँदै यसले कामप्रति थप जिम्मेवारी बाेध गराउने बताए । उनले वडाबाट प्राप्त हुने सेवा सुविधालाई अझै सहज रुपमा कर्मचारीले सेवाग्राहीलाई दिँदै आए तापनि अझै सरल र प्रभावकारी बनाउनुपर्नेमा जाेड दिए । अध्यक्ष थापाले ट्राफिक नियमलाई सबैेले पालना गर्नैपर्ने बताउँदै चालककाे लापरवाही र ट्राफिक नियमकाे पालना नगर्दा ज्यानै जाेखिममा पर्ने हुँदा सडक दुर्घटनाबाट जाेगिँदै अरुलाई समेत सचेत बनाउनुपर्ने बताए । चालकले सवारी साधनलाई सुरक्षित तवरले नियमसंगत भई आफु र यात्रुलाई सुरक्षित राख्नुपर्ने उनले बताए ।
यस्तै वडा अध्यक्ष दिनेश कुमार चाैधरीले स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य स्वयंसेविकालाई माेबाइल वितरण गरिएको बताए । उनले अन्यकाे हकमा पनि सेवा दिन समस्या सिर्जना नहाेस् र सुरक्षित तबरले काम र जिम्मेवार निर्वाह गर्न सकुन् भन्ने उद्देश्यले उक्त सामग्री प्रदान गरिएको बताउँदै उनीहरु थप हाैेसला र कामप्रति जिम्मेवारी भएको महसुस हुने बताए । अध्यक्ष चाैधरी दिनहुँ घट्ने सडक दुर्घटनालाई न्युनीकरणमा टेवा पुग्ने भन्दै अटाे रिक्सा चालकलाई टल्किने ज्याकेट समेत वितरण गरिएको जनाए ।
उनले चालकले आकस्मिक बिरामीलाई सम्बन्धित संस्था वा ठाउँमा पुर्याउन र अटाे रिक्सा चालकलाई वडाकाे पहलमा ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम समेत दिइएकाे बताए । उनले सडक दुर्घटना न्यूनीकरणमा ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रमले सहयोग पुग्ने बताउँदै सुरक्षित हुन सबैलाई आग्रह गरे ।
ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रमलाई जिल्ला ट्राफिक प्रहरी गाेरुसिङ्गेकाे टाेलीले सहजीकरण गरेकाे हाे । जिल्ला ट्राफिक प्रहरी निरीक्षक अनिस भण्डारी, इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक दिवाकर रिजाल, वडा सचिव बिमल पाेख्रेल लगायतकाे उपस्थिति रहेकाे थियोे ।





