देश

    काठमाडौँ–तराई द्रुत मार्गको भौतिक प्रगति ३१ प्रतिशत निर्माण कार्यसम्पन्न

    नवलपुर टुडे
    २०८० फाल्गुन ७ | मध्यान्ह ०५:११ बजे

      काठमाडौँ  । काठमाडौँ–तराई द्रुत मार्गको पछिल्लो ६ वर्षमा ३०.९६ प्रतिशत निर्माण कार्यसम्पन्न भएको छ। ललितपुरको खोकनादेखि बाराको निजगढसम्म ७०.९७७ किमि फास्ट ट्र्याक निर्माण कार्य करिब ३१ प्रतिशत भौतिक प्रगति भएको नेपाली सेनाले बताएको छ।

      द्रुत मार्गको निर्माण कार्य सुस्त देखिए पनि पछिल्लो समय फास्ट ट्र्याकमा पर्ने सुरुङ निर्माणको काम भने तीव्र गतिमा काम भइरहेको छ। नेपाली सेनाले काठमाडौँ–तराई द्रुत मार्गलाई १३ प्याकेज बनाई काम अघि बढाएको छ।

      Durta Marg 9

      काठमाडौँ–तराई द्रुत मार्गको अहिलेसम्म ५० किलोमिटर सडक निर्माणको लागि ठेक्का लागिसकेको छ भने ५ वटा प्याकेजको ठेक्का लाग्न बाँकी रहेको नेपाली सेनाले बताएको छ। ठेक्का लागेका आयोजनाको काम तीव्रगतिमा भइरहेको र अहिलेकै गतिमा काम भए आगमी २ वर्षमा भित्रै निर्माण कार्य सकिने नेपाली सेनाले जनाएको छ।

      काठमाडौँबाटै द्रुतमार्ग प्रवेश गर्ने प्याकेज ११ मा पर्ने खोकनामा जग्गा विवादले ६.५ किमि ठेक्का लाग्न बाँकी रहेको आयोजना प्रमुख विकास पोखरेलले बताए। उनले फास्ट ट्र्याक निर्माणको लागि आयोजना ठेक्का लाग्न नसके अगाडि बढ्न नसक्ने बताए। उनले अहिलेसम्म १ देखि ७ सम्म र १० नम्बर प्याकेजको ठेक्का भइसकेको बताए।

      Durta Marg 8

      उनले प्याकेज नम्बर ८ ‘क’ ९ ‘क’ र ‘ख’ ठेक्का लागेको धेरै समय भए पनि उच्च अदालतमा मुद्दा चलिरहेकाले काम हुन नसकेको बताए। उनले अदालतले पनि राष्ट्रिय गौरवको आयोजना भएकाले यसलाई प्राथमिकता दिएर छिटो मुद्दा टुङ्गो लगाए फास्ट ट्रयाक निर्माणको लागि अगाडि बढाउन सहज हुने अवस्था रहेको धारणा राखे।

      उनले सडक ठेक्का लगाउन विवादमा सहमति भए र अदालतले पनि तत्काल मुद्दा किनारा लगाइदिए समय अवधिमा नै आयोजना निर्माण कार्य सम्पन्न गर्न सकिने अपेक्षा रहेको बताए। उनले प्याकेज ८ ‘ख’को पुनः ठेक्काको लागि आर्थिक प्रस्ताव मूल्यांकनका क्रममा रहेको भन्दै केही दिनमा टुङ्गो लग्ने बताए।

      Durta Marg 6

      उनले चालु आर्थिक वर्षको लक्ष्य हेर्दा ९९ प्रतिशत लक्ष्य पूरा गरेको उल्लेख गरे। उनले नेपाली सेनालाई प्राप्त भएको जिम्मेवारी आगामी २०८३ चैतसम्म सम्पन्न गर्ने लक्ष्यमा काम गरिरहेको बताए।

      त्यस्तै, काठमाडौँ–तराई द्रुत मार्गअन्तर्गत निर्माण हुने ६ वटा सुरुङ मार्गमध्ये तीनवटा सुरुङको निर्माण जारी रहेको छ। यसरी समग्र सुरुङ मार्गको भौतिक प्रगति ६७.४३ प्रतिशत रहेको सेनाले बताएको छ।

      Durta Marg 5

      सडक मार्गमा लेनडाँडामा १.४३०, धेद्रेमा १.६३० र महादेवटारमा ३.३५५ किसिमका ३ वटा सुरुङ निर्माणाधीन रहेका छन्। बाँकी तीन वटा देवीचौर, सिसौटार र चन्द्राम सुरुङ प्याकेज ८ को ‘ख’ र १० नम्बर प्याकेजमा पर्ने भए पनि जमिनको बनावट कमजोर भएकाले विकल्पमा सुरुङ निर्माण गर्न लागिएको बताएको छ।

      निर्माण भइरहेको सुरुङ मार्ग काठमाडौँबाट निजगढतर्फ जाँदा एउटा र निजगढबाट काठमाडौँतर्फ आउँदा अर्को छुट्टै सुरुङ प्रयोग गर्नुपर्ने भएकाले एक ठाउँको सुरुङलाई चारतर्फबाट खनिएको छ। द्रुत मार्गका ३ वटै सुरुङमार्गको ठेक्का चिनियाँ कम्पनीले पाएर निर्माण कार्य तीव्र रुपमा गरिरहेको आयोजनाले बताएको छ।

      Durta Marg 4

      बाँकी तीन वटा निर्माण कम्पनीका इन्जिनियर विनायक शर्माले महादेवटारमा ३.३५५ किमिमध्ये १.९४८ किमि सुरुङ खन्ने काम सकिएको बताए। उनले अब उक्त सुरुङ मार्ग १.४०५ किमि मात्र खन्न बाँकी रहेको भन्दै आगामी दशैँ तिहारको बीचमा ब्रेक थ्रु गर्ने योजना रहेको जानकारी दिए।

      उनले धेद्रे सुरुङमार्गको १.६३० किमिमध्ये १.१७३ किमी सुरुङ खन्ने काम सकिएको बताए। शर्माले धेद्रे सुरुङमार्गको यही गतिका निर्माण कार्य भए आगामी जेठ महिनासम्म ब्रेक थ्रु गर्ने योजना रहेको बताए। उनले १.४३० किमि दूरी रहेको लेनडाँडा सुरुङ १.२०४ किमि खनिसकिएको बताए। उनले ३ वटा सुरुङको कुल दूरी ६.४१५ किमि रहेकामा अब २.०९ किमि मात्र खन्न बाँकी रहेको बताए।

      Durta Marg 2

      द्रुतमार्गमा ८९ वटा पुन निर्माण गरिँदै छन्। आकर्षक देखाउन आर्क ब्रिज निर्माण पनि गरिएको छ भने सबै पुलको कुल दूरी १२.८८ किमि रहेको छ। प्याकेज १ देखि ७ सम्म २ हजार ८ सय २ वटा फाउण्डेसन राखिनेछ। त्यसमध्ये १ हजार ६ सय ६५ वटा पायल निर्माण सकिएर पुल निर्माण भइरहेका छन्। ६७ पुल निर्माणाधीन हुँदा १८ वटा खरिद प्रक्रियामा छन्।

      महादेवटार र धेद्रे सुरुङ जोड्न अग्लो पुल निर्माण भइरहेको छ। धेद्रे सुरुङबाट लेनडाँडा सुरुङ जोड्न जमिन सतहबाट ८३ मिटरको सबैभन्दा अग्लो पुल निर्माण पनि भइरहेको छ। कोरियन कन्सल्टेण्ट कम्पनीका चिफ ब्रिज इन्जिनियर डोङ किमले दुई तर्फीको लागि २ वटा पुल बन्ने जानकारी दिए। उनले एउटा २७० मिटर लामो र अर्को २४५ मिटर लम्बाईका पुल बन्ने बताए। उनले यी पुल काठमाडौँको धरहराभन्दा अग्ला रहेको उल्लेख गरे।

      त्यस्तै, नेपाली सेनाका महासेनानी तथा द्रुतमार्ग अपरेसन इन्चार्ज इन्दीबर गुरुङले द्रुतमार्गमा सुरुङ मार्ग र पुल निर्माणसँगै अग्ला पहाडमा कटानको काम भइरहेको बताए। उनले सुरुङमार्ग बनाउन दूरी कम रहेका अग्ला स्थान कटान गरी एक्सप्रेस वे निर्माण भइरहेको उल्लेख गरे।

      Durtmarg

      उनले डाँडालाई ‘स्लोप’ गरी कटान गरिएको भन्दै स्लोपमा कटान गर्दा बढी जग्गा अधिग्रहण गर्नुपरेको बताए। उनले नेपालमा निर्माणाधीन धेरै सडकमा पहिरोको जोखिम रहेको भन्दै त्यसलाई हेरेर द्रुतमार्गमा रोकथाम गर्न बायो इन्जिनियरिङमा बढी ध्यान दिएको बताए।

      सेनाले २०८१ मंसिरभित्र काम सकिसक्नुपर्ने भए पनि उक्त अवधिमा काम नसकिने भएपछि ०८३ चैतसम्म म्याद थप गरिएको छ। यसको सुरु अनुमानित बजेट १ खर्ब ७५ अर्ब रुपैयाँ भए पनि म्याद थपसँगै लागत पनि २ खर्ब ११ अर्ब ९३ करोड रुपैयाँ पुर्‍याइएको छ। अहिलेसम्म ३१.५७ प्रतिशत खर्च भइसकेको छ।

        कमेन्टहरु