राष्ट्रपति पौडेल श्रीस्वस्थानीको दर्शन तथा पूजा गर्न साँखु जाँदै


काठमाडौँ, माघ २९ । राष्ट्रपति रामचन्द्र पौडेल श्रीस्वस्थानीको दर्शन तथा पूजा गर्न काठमाडौंको साँखुस्थित शालीनदी जाने भएका छन् ।
काठमाडौँ क्षेत्र नम्बर २ बाट नेपाली कांग्रेसकी समानुपातिक सांसद प्रतिमा गौतम, प्रदेश सभा सदस्य सुना परियार, शंखरापुर नगपालिकाका उपप्रमुख समिता श्रेष्ठ, वडा अध्यक्षहरु पोते थिङ, सहदेव श्रेष्ठ, रणबहादुर थिङलगायतको आग्रहमा राष्ट्रपति पौडेलसँग शालीनदी भ्रमणका लागि जान लागेका हुन् ।
राष्ट्रपतिले पहिलेदेखि नै शालीनदी जाने इच्छा ब्यक्त गरेको र त्यसका लागि के के प्रबन्ध गर्नुपर्छ भन्ने सल्लाह गर्न सांसद गौतमसहितको टोली राष्ट्रपति कार्यालय पुगेका थिए । राष्ट्रपति पौडेलले फागुन ६ गते बिहान ९ बजे शालीनदी आउने समय दिएको उनलेे बताए ।
हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शूक्ल पूर्णिमासम्म काठमाडौँको शंखरापुर नगरपालिका स्थित साँखुमा १ महिना लाग्ने यो शालीनदी मेला फागुन १२ गतेसम्म सञ्चालन भइरहेको छ ।





