सुदुरपश्चिम प्रदेश

    महेन्द्रनगरबाट दुई जना पत्रकारहरु किन पक्राउ परे ?

    नवलपुर टुडे
    २०८० माघ २८ | बिहान ०८:१० बजे

      बुटवल, माघ २८ । जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक बिनुकुमारी शाहीका विरुद्धमा निरन्तर समाचारहरु आइरहेका बेला कन्चनपुर् सदरमुकाम महेन्द्रनगरबाट दुई जना पत्रकारहरु पक्राउ परेका छन्।

      प्रहरीले शनिवार बिहान पत्रकार पुस्कर भट्टलाई पक्राउ गरेकोमा दिउँसो कञ्चनपुरकै पत्रकार ऐश्वर्य कुँवरलाई पनि पक्राउ गरेको हो।

      जिल्ला अदालत, कञ्चनपुरबाट उनीहरुविरुद्ध विद्युतीय कारोबार सम्बन्धी मुद्‍दामा पक्राउका लागि अनुमति ल्याइएको पाइएको नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका अध्यक्ष माधव धामीले जानकारी दिए।

      कञ्चनपुर प्रहरीले मुद्‍दा दर्ता गर्ने व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर ४ का ४२ वर्षीय भट्ट गायत्री टुर एण्ड ट्रभल्सको बजार व्यवस्थापनको काम गर्दै आएका थिए।

      उनीहरुले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक बिनुकुमारी शाहीका विरुद्धमा समाचार तथा सामाजिक सञ्जालहरूमा विभिन्न आरोपहरू लगाएका थिए । प्रहरी प्रवक्ता प्रकाश डाँगीले भट्टले अनुसन्धानका क्रममा अन्य व्यक्तिलाई पनि पक्राउ गरिने संकेत गरेका छन् ।

      ‘अब अनुसन्धान गर्दा अन्य पनि पक्राउ पर्न सक्छन्, कति जना भन्ने कुरा अनुसन्धानबाट थाह हुन्छ’ उनले भने ।जिल्ला प्रहरी कार्यालयले केही दिन अघि नेपाल पत्रकार महासंघसहित राजनीतिक दल सम्बद्ध पत्रकारलाई संगठनका प्रतिनिधिलाई कार्यालयमा बोलाएर छलफल गरेको थियो । त्यसमा प्रहरी कार्यालयका अधिकारीहरुले फेसबुकमा लेखिएका विषयलाई लिएर मुद्दा चलाउन सकिने बताएका थिए ।

      प्रहरी कार्यालयमा भएको छलफलमा सहभागीका अनुसार प्रहरीले पत्रकार भट्ट, ऐश्वर्या कुँबर र अर्का एक जनाको नाम लिएर छलफल गरेको बताए । छलफलमा प्रहरी अधिकारीले पत्रपत्रिकामा प्रकाशित समाचारका विषयलाई भने प्रेस काउन्सिलले हेर्ने र सामाजिक सञ्जालमा लेखिएका विषय वस्तुमा साइबर क्राइम आकर्षित हुने बताएका थिए।

        कमेन्टहरु