राष्ट्रियसभाका अध्यक्षको निर्वाचन फागुन २९ मा गर्न प्रस्ताव

जगत ठाडा मगर
२०८० माघ २१ | मध्यान्ह ०३:१० बजे

काठमाडौँ, माघ २१ । राष्ट्रियसभाको अध्यक्षका लागि आगामी फागुन २९ गते निर्वाचन गर्न प्रस्ताव गरिएको छ ।
आगामी फागुन २० गते राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० सांसदको कार्यकाल सकिँदै छ । सभाको अध्यक्ष पद रिक्त भएपछि त्यसको एकसाताभित्र निर्वाचन गर्नेबारे राष्ट्रियसभाले कार्यतालिका बनाएको हो ।
शुक्रबार स्वीकृत भएको राष्ट्रियसभाको क्यालेन्डरले फागुन २७ गते राष्ट्रियसभा अध्यक्षको निर्वाचनको दिन र समय निर्धारण गर्ने र फागुन २९ गते अध्यक्षको निर्वाचन गर्ने कार्यतालिका बनाएको छ । अहिले सम्भावित कार्यातालिका बनेपनि राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले यसबारे अन्तिम टुङ्गो लगाउने संघीय संसदका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरुको सपथग्रहण भने फागुन २१ गते हुने बताइएको छ ।





