अपराध

    दाङमा सलले घाटीमा बेरेर श्रीमती र छोराको हत्या गरेको आरोपमा प्रहरी जवान पक्राउ

    जगत ठाडा मगर
    २०८० माघ २१ | बिहान ११:१० बजे

      दाङ, माघ २१ । दाङमा श्रीमती र छोराको हत्या गरेको आरोपमा एक प्रहरी जवान पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपाली पक्राउ परेका हुन् ।

      नेपालीले २२ वर्षीया श्रीमती टीका विक र साढे २ वर्षका छोरा सुशान्त नेपालीको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले जानकारी दिए । उनका अनुसार प्रहरी जवान नेपाली नेपालगञ्जबाट श्रीमती आएकी छन् भनेर शनिबार राति कार्यालयबाट बिदा मागेर गएका थिए । उनी घोराहीको सहिद गेटस्थित सुपरलज होटलको कोठा नं १ मा बसेका थिए ।

      आइतबार बिहान ७ बजेतिर आपसी विवाद भएपछि सलले घाँटी कसेर श्रीमती र छोराको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी मल्लले जानकारी दिए । श्रीमती र छोराको हत्यापछि उनी आफैं प्रहरी कार्यालयमा पुगेका थिए ।

      नेपालीको घर रुन्टीगढी गाउँपालिका–९, रोल्पा हो भने श्रीमतीको माइती रुकुम चौरजहारी हो । डिएसपी मल्लका अनुसार नेपाली लामो समय नेपालगञ्जस्थित प्रहरी तालिम केन्द्रमा कार्यरत थिए । उनी दुई महिनाअघि मात्रै सरुवा भएर दाङ आएका थिए । उनले प्रहरीमा जागिर गरेको १० वर्ष भइसकेको मल्लले बताए ।

      घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु