दुर्घटना

    दाङमा बोलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    जगत ठाडा मगर
    २०८० माघ २० | बिहान ०७:१० बजे

      दाङ, माघ २० । दाङको राप्ती गाउँपालिका – ५ कमलरोड सिसहनियाँ(दोलाई खोला) नजिकै बोलेरो गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

      गएराति पौने १० बजेको समयमा रोल्पा देखि घोराही आउँदै गरेको बा १८ च ८६१८ नम्बरको बोलेरो गाडीले पश्चिमदेखि पुर्व जाँदै गरेको लु ३२ प ७०१४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँएको थियो ।

      ठक्करबाट मोटरसाइकल चालक राप्ती गाउँपालिका – ८ बिजौरी निवासी २८ वर्षिय सुनिल चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिए ।

      मृतक चौधरीको टाउको छेदविच्छेद भएर चुडिएको थियो । मृतकको शवलाई लमही पठाइएको छ भने बोलेरो चालक घाइते भएका छन् । बोलेरो चालक कपिलवस्तुको शुद्धोधन गाउँपालिका – २ बस्ने आस्वीन सुनार रहेका छन् ।

      सुनारको आँखा र नाकमा गहिरो चोट लागेकाले सिसहनियाँ स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु