देश

    बौद्धिक पलायनको भयावह स्थिति रोक्नुपर्छ : प्रधानमन्त्री

    जगत ठाडा मगर
    २०८० माघ १८ | बिहान १०:१० बजे

      काठमाडौँ, माघ १८ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बौद्धिक पलायनको भयावह परिस्थिति रोक्नुपर्ने बताएका छन् । राजर्षिजनक विश्वविद्यालयको सातौँ सभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्रीले विद्यार्थीको बौद्धिक पोषणका निम्ति क्षमताको पूर्ण परिचालन एवं रचनात्मक तत्परताबाट पलायन रोक्न सकिने बताए ।

      राजर्षिजनक विश्वविद्यालयबाट बाहिर निस्कने प्रत्येक स्नातक तहमा शिक्षाको वर्तमान तस्वीर र भविष्य अन्तर्निहित हुने उल्लेख गर्दै प्रधानमन्त्रीले शिक्षा पद्धतिलाई युगअनुकुल परिष्करण गर्दै लैजानुपर्नेमा जोड दिए । राष्ट्रको नेतृत्व गर्न योग्य जनशक्तिको उत्पादन आजको प्रमुख कार्यभार भएको उल्लेख गर्दै उनले शिक्षामा गुणात्मक सुधार ल्याउनुपर्ने धारणा राखे ।

      प्रधानमन्त्री प्रचण्डले विश्वव्यापीकरणको सबैभन्दा ठूलो प्रभाव शिक्षा क्षेत्रमा परिरहेको वर्तमान परिप्रेक्ष्यमा विश्वविद्यालयहरूको नीति, पाठ्यक्रम, शिक्षा विधि, कार्यशैलीमा गुणात्मक सुधार गर्नुपर्ने अवस्था आएको बताए । उनले भने, ‘नवप्रवर्तनमा आधारित प्रतिस्पर्धी शिक्षामा जोड दिनुपर्छ मेरो अपेक्षा त्यही छ ।’

      विश्वविद्यालय स्थापनाको छोटो अवधिमा प्राविधिक विषयका चिकित्सा शिक्षा, व्यवस्थापन र कम्प्युटर प्रविधि  विषयहरूमा स्नातक र स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सञ्चालन गरेकोमा आभार प्रकट गर्दै अपेक्षित सफलताका निम्ति क्रियाशील हुन प्रधानमन्त्रीले सुझावसमेत दिए ।

      विश्वविद्यालयको जग्गा र भवन पूर्वाधारको अभावमा झेल्नुपरेका कठिनाइहरू अर्थतन्त्रमा आउने सुधारसँगै क्रमशः सम्बोधन गरिने उनको भनाइ थियो । प्रधानमन्त्री दाहालले विश्वविद्यालयका अन्य प्राज्ञिक कार्यक्रमहरू व्यवस्थित तुल्याउन सरकारको तर्फबाट गर्नुपर्ने नीतिगत र व्यवस्थापकीय सहयोगमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

      सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले सम्पूर्ण मधेश प्रदेशलाई ज्ञान–विज्ञानको केन्द्र भएको समेत बताए । राजा जनकले ज्ञानी ऋषिमुनीहरूसँग शास्त्रार्थ गरेर ज्ञानको सर्वोच्चता सिद्ध गरेकोसमेत उनले उल्लेख गरे ।

      उनले सङ्घीय संरचनाअन्तर्गत मधेश प्रदेशमा रहेको सम्पूर्ण मधेश प्रदेशलाई पुनः ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्ने सरकारको नीति रहेको बताए ।  ज्ञानको दीप प्रज्वलित गर्ने उद्देश्यले राजर्षिजनकको नाममा विश्वविद्यालय खोलिनु प्राचीन सभ्यता, संस्कृति र सांस्कृतिक धरोहरप्रतिको अगाढ आस्था भएको प्रधानमन्त्रीले उल्लेख उल्लेख गरे ।

        कमेन्टहरु