चितवनको पन्ध्रकिलोमा पुल बनाउन खनेको खाल्डोमा खसेर सहायक हवल्दारको मृत्यु, अर्का एक जना घाइते


बुटवल, माघ १८ । नारायणगढ–मुग्लिन सडक अन्तर्गत चितवनको भरतपुर महानगरपालिका–२९ पन्ध्रकिलोमा पुल बनाउन खनेको खाल्डोमा परेर प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।
रुपन्देहीको रुद्रपुर १ बस्ने गण्डकी प्रदेश बिपद् ब्यबस्थापन गुल्म बाग्लुङ दरबन्दी भई हाल अस्थायी प्रहरी पोष्ट धारापानी गोरखामा कार्यरत ३३ वर्षीय प्रहरी सहायक हवल्दार रमेश राना र रुद्रपुर १ बस्ने ३७ वर्षीय विकास कुमार पुन सवार ग २३ प १५५९ नम्बरको मोटरसाइकल मंगलबार राति ११ बजेतिर अनियन्त्रित भई पुल बनाउन खनेको खाल्डोमा खसेको थियो ।
दुर्घटनामा दुवै जना घाइते भएका थिए । प्रहरी सहायक हवल्दार रानाको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार राति ११ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता श्रीराम भण्डारीले जानकारी दिए । अर्का घाइते पुनको अनुहारमा चोट लागेको र अवस्था मध्यम रहेको उनले बताए ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।





