दुर्घटना

    हेलम्बुमा गुम्बा जाँदै गरेको जिप दुर्घटना : दुई भुटानी नागरिकको मृत्यु, पाँच जना घाइते

    जगत ठाडा मगर
    २०८० माघ १७ | मध्यान्ह ०२:१० बजे

      सिन्धुपाल्चोक, माघ १७ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका – १ स्थित दोरिङ भीरबाट जिप खस्दा दुई जना भुटानी नागरिकको मृत्यु भएको छ ।

      बुधबार बिहान करिब ११ बजेतिर झिचेन मिलारेपा जाँदै गरेको बा २ च ४४५० नम्बरको जिप दोरिङ भिरबाट खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिपमा पाँच जना भुटानी नागरिक र एक जना नेपाली (चालक) सवार थिए ।

      तीमध्ये दुई भुटानी नागरिकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी निरञ्जन भट्टराईले जानकारी दिए । भुटानी नागरिकहरू ३३ वर्षीय अब्गे र ७१ वर्षीय वाङ्मोको मृत्यु भएको खुलेको उनले बताए ।

      दुर्घटनामा गम्भीर घाइते भएकामध्ये दुई जनालाई हेलिकप्टरबाट काठमाडौंस्थित केएमसी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । अन्य दुई घाइतेलाई पनि हेलिकप्टरबाटै काठमाडौं ल्याउने तयारी छ । चालक हेलम्बु गाउँपालिका- २ का ४२ वर्षीय रामचन्द्र भण्डारी रहेको प्रहरीको भनाइ छ । 

      गुम्बा जाँदै गरेको जिप सडकबाट ५० मिटर तल खसेको थियो । 

        कमेन्टहरु