राष्ट्रियसभा निर्वाचन : आजदेखि मौन अवधि सुरु, प्रचारप्रसार गर्न नपाइने


काठमाडौँ, माघ ९ । यही माघ ११ गते बिहीबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगका अनुसार गएराति १२ बजेबाट मौन अवधि सुरु भएको हो ।
मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म मौन अवधि लागू हुनेछ । उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी तथा मस्तिष्क मन्थनलगायतका कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।
यस्तै, आयोगले सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री सामाजिक सञ्जालमार्फत सम्प्रेषण वा आदानप्रदान गर्न वा गराउन नहुने विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।
निर्वाचन आयोगले फागुन २१ गतेबाट रिक्त हुने राष्ट्रियसभाका २० मध्ये १९ सिटका लागि माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकेको छ । एक सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्नेछन् । निर्वाचनका सात प्रदेशबाट विभिन्न दलका ५१ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् ।





