समाज

    गुल्मीकी मनिषाले भनिन, विदेशमा खर्चिने समय नेपालमै खर्चिएमा सफल हुन सहज छ

    इन्द्रजित नेपाली
    २०८० माघ ५ | बिहान ०९:१० बजे

      गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका- ३ हाडहाडेका ताराबहादुर घर्ती क्षेत्री र सीता घर्ती क्षेत्रीको कोखबाट जन्मिएकी २३ वर्षीय मनिषाले सानै उमेरमा स्टाफ नर्स पूर्ण छात्रवृत्तिमा उत्तीर्ण र त्यसवापत करारमा पाँच वर्ष सेवा गरेर हाल उनले लोकसेवा मार्फत स्थायी जागिरमा प्रवेश गरेकी हुन् ।

      धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा पास गरेकी हुन् । उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेश अन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, वाग्मती प्रदेश अन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोग अन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह पास गरेकी हुन् । सानैदेखि नर्सिङ विषय पढ्ने रहर थियो । छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ,’ उनले भनिन् ।

      परिश्रमका कारण आफूलाई सफलता मिलेको उनको भनाइ छ । एक महिना मात्र तयारी गरेर परीक्षा पास भएको उनले बताइन् । ‘रुचि र इच्छा भयो भने नेपालमै सम्भव छ, विदेशमा कामलाई खर्चिने समय नेपालमै खर्चिएमा सफल हुन सहज छ, उनले स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट २०७५ सालमा पास गरेकी हुन् । त्यसपछि उनले करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्षा र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरिन् ।

      उनले माध्यामिक शिक्षा परीक्षा गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट पास गरेकी हुन् । उनी अहिले बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा सङ्कायमा अध्ययनरत पनि छिन् ।

        कमेन्टहरु