नवलपुरको बुलिङटार- १ मोचाडाँडाँमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते


नवलपुर, माघ ४ । नवलपुरको बुलिङटार गाउँपालिका – १ मोचाडाँडास्थित कालिगण्डकी करिडोर सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
तराङखोलाबाट बुलिङटारतर्फ आउँदै गरेको फलामको रड लोड गरेको लु ४ त २३१३ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकदेखि सय मिटर तल खेतमा खस्न जाँदा ट्याक्टरमा सवार बुलिङटार गाउँपालिका – ३ बस्ने ३५ वर्षीय चन्द्र बहादुर
दर्लामीको मृत्यु भएको हो ।
दर्लामीको ट्याक्टरले किचेर घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बेद बहादुर पौडेलले जानकारी दिए । उनका अनुसार सोही ट्याक्टरमा काम गर्ने दुई जना कामदार पनि घाइते भएका छन् ।
घाइते हुनेमा बुलिङटार – ३ कै ४० वर्षीय धन बहादुर नेपाली र २८ वर्षीय मिन बहादुर सार्की रहेका छन् । धन बहादुरको हात खुट्टा, घुँडामा चोट लागेको र अवस्था मध्यम रहेकाले उनलाई उपचारको लागी नयाँ मेडिकल कलेज भरतपुर पठाईएको छ भने मीन बहादुरको हात र घुँडामा सामान्य चोट लागेकाले स्थानीय मेडिकलमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक बुलिङटार – ३ कै २१ वर्षीय धन बहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक दर्लामीको शव पोस्टमार्टमका लागी जिल्ला सरकारी अस्पताल चितवन पठाएको प्रहरी नायव उपरीक्षक पौडेलले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भईरहेको उनले बताए ।
दुर्घटना स्थलको भिडियो:





