निर्वाचन

    राष्ट्रिय सभा निर्वाचन : आज मतदाता नामावली प्रकाशन गरिने

    जगत ठाडा मगर
    २०८० पुस २० | बिहान ०७:०९ बजे

      काठमाडौं, पुस २० । राष्ट्रियसभा निर्वाचनका लागि आज मतदाता नामावली प्रकाशन हुँदै छ । निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ । राष्ट्रियसभा निर्वाचनमा प्रदेशका सांसद र पालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् ।

      आयोगले पछिल्लो राष्ट्रिय जनगणनाअनुसार कूल जनसंख्यालाई आधार मानेर राष्ट्रिय सभा निर्वाचनका लागि यसपालि नयाँ मतभार कायम गरेको छ । जसअनुसार प्रदेश सभा सदस्यको मतभार ५३ र नगर प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षको मतभार १९ तोकिएको छ । यसअघि प्रदेश सभा सदस्यको मतभार ४८ थियो । यस्तै प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्षको १८ थियो ।

      आज बिहान १० बजेदेखि ११ बजेभित्र मतदाता नामावली प्रकाशन गरिसक्ने छ । प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्यका लागि ११ बजेदेखि दिउँसो ४ बजेसम्मको समय निर्धारण गरिएको छ । उक्त दावी विरोधउपर छानबिन गरी आयोगले पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ ।

      पुस २३ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र सोही दिन अपराह्न ३ बजेदेखि ४ बजेसम्म उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ । पुस २४ गते उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ । पुस २५ र पुस २६ गते मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने कार्यक्रम छ । पुस २६ गते उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

      पुस २७ गते उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने पुस २८ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने छ । माघ ११ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्‍म मतदान कार्य गरिनेछ । मतदान सकिएपछि सोही दिनै मतगणना गरिने आयोगले जनाएको छ । 

      सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका एक र १९ जना निर्वाचित सदस्यको फागुन २० गते पदावधि सकिँदैछ । सदस्यहरूको पद रिक्त हुनु एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्थाअनुसार मंसिर ११ गते राष्ट्रियसभाको निर्वाचन हुन लागेको हो ।

        कमेन्टहरु